ताजा अपडेटः

उपभोक्ता हित संरक्षण मंच नवलपरासीकाे नयाँ नेतृत्व चयन

कल्पना खरेल
उपभोक्ता हित संरक्षण मंच नवलपरासीकाे नयाँ नेतृत्व चयन प्रकाशित मिति: २३ कार्तिक २०८२, शनिबार १०:४१

परासी, २२ कात्तिक । उपभोक्ता अधिकार, जनचेतना अभिवृद्धि तथा सुशासन प्रवद्र्धनको क्षेत्रमा सक्रिय योगदान पु¥याउने निकाय तथा व्यक्तिहरूलाई उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले सम्मान गरेको छ।
मञ्चको शुक्रबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभाको अवसरमा बर्दघाट नगरपालिकासहित उपभोक्ता अधिकारका क्षेत्रमा उल्लेखनीय सहयोग, योगदान र सहकार्य गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानपत्र र दोसल्लाद्धारा सम्मान गरिएको मञ्चका जिल्ला अध्यक्ष भोजराज बराकोटीले जानकारी दिनुभयो ।
बर्दघाट नगरपालिकाले उपभोक्ता हित संरक्षणको क्षेत्रमा नेपालका ७५३ स्थानीय तह मध्ये सबैभन्दा उत्कृष्ट योगदान गर्दै आएको मञ्चका निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवालीले बताउनुभयो । उपभोक्ता शिक्षा तथा सचेतना, बजार अनुगमन, स्वच्छ बजार निर्माणको क्षेत्रमा बर्दघाट नगरपालिकाले उल्लेखनीय बजेट विनियोजन गरी प्रभावकारी कार्यान्वयन गर्दै आएकोले मञ्चको केन्द्रीय समिति र जिल्ला समितिले सम्मान गरेको ज्ञवालीले बताउनुभयो । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।
यसैगरी नवलपरासी जिल्लाका सात वटै पालिकामा गठित उपभोक्ता हित संरक्षण मञ्चमध्ये उत्कृष्ट हुन सफल बर्दघाट नगर समितिलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । नगर अध्यक्ष हुमनाथ आचार्यसहितका पदाधिकारीहरुले सम्मानपत्र ग्रहण गर्नुभएको थियो । यसैगरी नवलपरासी जिल्लामा उपभोक्ता हित संरक्षण मञ्च स्थापना गरी हालसम्म अनवरत रुपमा क्रियाशील मञ्चका संस्थापक जिल्ला अध्यक्ष एवं निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवाली, संस्थाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सचिव सरस्वती शर्मा र पूर्व अध्यक्ष रामचन्द्र पौडेललाई पनि उपभोक्ता अधिकार आन्दोलनको अभियानमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको मञ्चका जिल्ला अध्यक्ष बराकोटीले बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बराकोटी तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल) एवं मञ्चकी केन्द्रीय सचिव सरस्वती शर्मा लगायतले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो। मञ्चका पदाधिकारीहरूले उपभोक्ता हितका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उपभोक्तामुखी सेवा, सुशासन र पारदर्शितामा उदाहरण बन्ने अपेक्षा व्यक्त गरेका थिए।

उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीको अध्यक्षमा बराकोटी

उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील नेपालको अग्रणी संस्था उपभोक्ता हित संरक्षण मञ्च नेपाल, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) शाखाको अध्यक्षमा भोजराज बराकोटी निर्वाचित हुनुभएको छ ।
मञ्चको शुक्रबार परासीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशन तथा साधारणसभाले बराकोटीको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
बराकोटी यसअघि जिल्ला उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । यस्तै नवनिर्वाचित जिल्ला समितिको उपाध्यक्षमा मोहन पौडेल, सचिवमा धु्रवराज ज्ञवाली,कोषाध्यक्षमा राधा अर्याल निर्वाचित हुनुभएको निर्वाचन संयोजक एवं मञ्चका निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो । मञ्चको जिल्ला सदस्यहरुमा हुमनाथ आचार्य,शम्भु उपाध्याय,राजु देवान, ठगिश्वर पोखरेल,कुस्माखर ढकाल(कृष्ण),पुष्पा चौधरी निर्वाचित हुनुभएको छ ।
एक जना पछि मनोनीत गरिने जनाइएको छ । साधारणसभाले सचिव मोहन पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ध्रुवराज ज्ञवालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।
उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका कार्यबाहक अध्यक्ष बराकोटीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मञ्चकी केन्द्रीय सचिव सरस्वती शर्मा, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, उपमेयर रुद्रप्रकाश उपाध्याय, रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका संस्थापक जिल्ला अध्यक्ष एवं निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवाली, स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्मा,नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष रामकृष्ण पौडेल, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।




Ads