ताजा अपडेटः

सुस्ताको विषयलाई लिएर समस्या समाधानका लागि पहल सुरू 

कल्पना खरेल
सुस्ताको विषयलाई लिएर समस्या समाधानका लागि पहल सुरू  प्रकाशित मिति: १ असार २०८३, सोमबार ११:१९

पश्चिम नवलपरासी, असार १ गते । एक साताअघि भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर समस्या समाधानका लागि पहल थालिएको छ।
सुस्ता क्षेत्रको प्रतिनिधित्व गर्ने संघीय सांसद विक्रम खनालले सुस्ता पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गरी घटनाको वस्तुस्थिति र वास्तविकता बुझिसकेपछि समस्या समाधानको पहल थालिएको हो । सांसद खनालले सुस्ताको वास्तविक र हालै सिर्जित समस्याका बारेमा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयमा लिखित रूपमै जानकारी गराई समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एक साताअघि भारतीय सुरक्षाकर्मी (एसएसबी) को टोली सुस्ताको नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए, जसका कारण विवाद उत्पन्न भएको थियो । विवाद समाधानका लागि पहिलो चरणमा स्थानीय प्रशासन, सुस्तावासी र संघीय सांसदबीच सर्वपक्षीय छलफल सोमबार हुँदैछ । छलफल पश्चात् संघीय सांसद खनालले काठमाडौँ पुगेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयमा समस्या समाधानका लागि लिखित रूपमा जानकारी बुझाउने र कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्ने योजना छ ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नियतवश फरक-फरक नयाँ स्थानहरूबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि “हामी पहिलेदेखि नै यही बाटो गस्ती गर्थ्यौं” भन्दै दाबी गर्ने गरेका छन् । भारतीय पक्षको यस्तो प्रवृत्तिका कारण सीमा क्षेत्रमा पटक-पटक विवाद बढ्दै गएको स्थानीयको भनाइ छ।
सांसद खनालले दुवै देशका सुरक्षाकर्मीले गर्ने ‘संयुक्त गस्ती’ बाहेक अन्य कुनै पनि बहानामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गर्न नहुने र यसलाई तत्काल रोकिनुपर्ने बताउनुभयो । सुस्तावासीले भारतीय एसएसबीले गलत नियत राखी पटक-पटक नेपाली भूमि अतिक्रमण गर्न खोजेको भन्दै यस विषयको दीर्घकालीन र स्थायी समाधान खोज्न सरकारसँग जोडदार माग गरेका छन् । फोटो र भिडियो सहित”




Ads