ताजा अपडेटः

नेपालमा झण्डै साढे ५ प्रतिशत जनसङ्ख्यासँग शौचालय अभाव

नेपालमा झण्डै साढे ५ प्रतिशत जनसङ्ख्यासँग शौचालय अभाव प्रकाशित मिति: ३ मंसिर २०८०, आईतवार ११:३८

 

काठमाण्डौ। आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सरसफाइ सचेतना विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यस वर्ष संयुक्त राष्ट्र सङ्घले विश्व शौचालय दिवसको नारा परिवर्तनलाई बढावा दिऔँ भन्ने राखेको छ ।
नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ । तर अझै पनि झण्डै साढे ५ प्रतिशत जनसङ्ख्यासँग शौचालयको अभाव छ । सबै जनसङ्ख्यामा शौचालयको पहुँच पुर्याइ फोहरपानी र दिसाजन्य लेदो प्रशोधन गरी व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुलाठाउँमा दिसा.पिसाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक एक हजार बालबालिकाको ज्यान जाने गरेको छ ।
खुला ठाउँमा दिसापिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गइ आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ ।
नेपालले आधारभूत सरसफाइमा प्रगति हासिल गरे पनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइमा भने नेपालको प्रगति कमजोर रहेको विज्ञहरु बताउँछन् । आउँदा दिनमा विभिन्न कारणले शौचालयको सुविधा नपुगेको जनसङ्ख्यामा शौचालय निर्माण गर्ने र शौचालयको सेप्टिक ट्याङ्की भरिएपछि सुरक्षित तरिकाले खाली गरी ढुवानी एवं प्रशोधन गरी पुनः प्रयोग वा सुरक्षित व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
नेपालमा झण्डै ११ प्रतिशत जनसङ्ख्याको शौचालय ढल प्रणालीमा जडान गरिएको सरकारी तथ्याङ्क छ । ती मध्ये झण्डै ३ प्रतिशत जनसङ्ख्यामा मात्र प्रशोधन सहितको ढल प्रणालीमा समेटिएको छ । बाँकी ८९ प्रतिशत जनसङ्ख्याको शौचालय स्थलगत रुपमा व्यवस्थापन गरिँदै आएको छ । यस्तै, नेपालमा सार्वजनिक शौचालयको निर्माण र सञ्चालन पक्ष पनि कमजोर रहेको छ ।स्रोतःउज्यालो



Ads