ताजा अपडेटः

नवलपरासीको विकास नै आफ्नो प्रमुख एजेन्डा : नेकपा उमेदवार पाैडेल

कल्पना खरेल
नवलपरासीको विकास नै आफ्नो प्रमुख एजेन्डा : नेकपा उमेदवार पाैडेल प्रकाशित मिति: १० माघ २०८२, शुक्रबार ०६:११

सुरेश यादव,परासी,माघ ०९ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सचिवालय सदस्य देवेन्द्र पौडेलले पश्चिम नवलपरासी क्षेत्र नं.२ को विकास नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभएको छ ।

नेकपाको तर्फबाट क्षेत्र नं.२ को उम्मेदवार रहनुभएका पौडेलले विहीबार परासीस्थित परासी प्रेस क्लवले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस क्षेत्रबाट आफूले विजयी हासिल गरेमा विगतमा भन्दा राम्रो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चुनावी आश्वासन नभइ विकास गरेरै देखाउने जिकिर गर्नुभयो ।

यस क्षेत्रको शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा विशेष विकास गर्नुपर्ने देखिएको बताउँदै नेता पौडेलले मधेसी, थारु,उत्पीडित तथा पिछडिएका समुदायको आवाज सशक्त ढंगले उठान गर्न पनि आफ्नो जित आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पूर्व शिक्षामन्त्री समेत रहनुभएका पौडेलले विगतमा पनि यस क्षेत्रका विभिन्न विद्यालयहरु तथा क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा बजेट व्यवस्थापन गरेको स्मरण गर्नुभयो । नवलपरासी क्षेत्र नं २ मा चक्रपथ निर्माण, भगवान् गौतम बुद्धसँग जोडिएका महत्वपूर्ण स्थलहरुको विकास, सीमा समस्या लगायत जनताका समस्यालाई आफूले प्राथमिकताका साथ अगाडि बढाउने उहाँले बताउनुभयो ।

केन्द्रीय निकायहरुमा रहेको पहुँचलाई विस्तार गर्दै यस क्षेत्रका आवश्यकता अनुसारका विकास निर्माण, जनसवालका विषय तथा कानून निर्माणमा सशक्त भूमिका निर्वाह गर्न पनि आफ्नो उम्मेदवारी रहेको नेता पौडेलले उल्लेख गर्नुभयो ।




Ads