नवलपरासी पश्चिम, जेठ ८ गते । सांकेतिक भाषाको माध्यामबाट शिक्षणा कार्यलाई प्रभावकारी बनाउन नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिकाका शिक्षकहरुलाई सांकेतिक भाषा तालिम संचालन गरिएको छ ।
प्रतापपुरको बेलाटारीस्थित बहिरा विद्यार्थी स्रोत कक्षा संचालन गरिहरेको त्रिभुवन माविमा शुरु भएको पन्ध्र दिने उक्त तालिममा पालिकाका विभिन्न ११ विद्यालयका शिक्षकसहित १५ जनाको सहभागिता छ । प्रतापपुर गाउँपालिकाको आयोजना, अपांगता समावेशी विकास परियोजनाको सहयोग र युनाइटेड मिसन टु नेपाल (यूएमएन ) र सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा उक्त सांकेतिक भाषा प्रशिक्षण संचालन गरिएको हो ।
सुस्त श्रवण भएका बालबालिकालाई शिक्षण गर्न शिक्षकलाई सहज बनाउने उदेश्यले प्रशिक्षण संचालन गरिएको अपांगता समावेशी विकास परियोजनाका संयोजक श्याम सुन्दर ढुंगानाले बताउनुभयो ।
उहाँले भन्नुभयो “बुझ्न पाउने सबै नागरिकको अधिकार होे” “स्रोत कक्षा बाहेक अन्य विद्यालयमा पनि बहिरा बालबालिकाले पढ्न सक्ने वातावरणका लागि शिक्षकहरुमा सांकेतिक भाषको ज्ञान हुनु जरुरी छ । त्यस कारणले पनि यो तालिम फलदायी हुने विश्वास लिएका छौँ” ।
सांकेतिक भाषाको ज्ञान नहुँदा बहिरा विद्यार्थीले व्यक्त गर्न खोजेको कुरा शिक्षकले नबुझ्ने र शिक्षकले पनि बुझाउन नसक्दा विद्यार्थीहरुलाई पढाईप्रति रुची घट्ने भएकोले शिक्षकहरुलाई सांकेतिक भाषा सिकाउन खोजिएको यूएमएनका परियोजना म्यानेजर अर्जुन तामाङ्गले बताउनुभयो ।
विद्याथीले भनेको शिक्षकले बुझने र शिक्षकले पनि विद्यार्थीलाई बुझाउन सक्ने भएमा बहिरा विद्यार्थीले पनि अन्य विद्यार्थी सहर सगैँ अध्ययन गर्न सक्ने हुदा विद्यालय छोड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
पन्ध्र दिनसम्मा संचलन हुन उक्त तालिममा सांकेतिक भाषकी विज्ञ यशोदा थापाले प्रशिक्षण दिनुहुने सुनवल सामुदायिक विकास केन्द्रकी समावेशी तथा पुनःस्थापना संयोजक राधा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा शिक्षकसँगै अपांगता प्रवद्धधन समितिबाट दुई जना, स्वावलम्बन समूहबाट एकजना तथा गाउँपालिकाको महिला तथा बालबालिका शाखाबाट एकजना कर्मचारीको पनि सहभागिता रहेको छ ।
प्रतापपुर गाउँपालिकाको बेलाटारीस्थित त्रिभुवन माविमा संचालित बहिरा विद्यार्थी स्रोत कक्षा गाउँपालिकाको एकमात्र र जिल्लाकै पुरानो स्रोत कक्षा हो । नवलपरासी पश्चिममा हाल बहिरा विद्यार्थीका लागि दुईवटा विद्यालयमा स्रोत कक्षा संचालन छ । बहिरा विद्यार्थीलाई लक्षित गरी संचालन गरिएको स्रोत कक्षा पालिकामै एकमात्र र त्यहाँ पनि ५ सम्म मात्र अध्ययन अध्यापन हुने गरेको त्रिभुवन माविका प्रधानाध्यापक नारद ठाकुरले बताउनुभयो । हाल उक्त स्रोत कक्षामा ५ जना विद्यार्थी अध्ययनरत छन् ।
शिक्षकलाई सांकेतिक भाषाको ज्ञान भएमा स्रोत कक्षा बाहेक अन्य विद्यालयमा पनि बहिरा बालबालिकाले सहजै शिक्षा हासिल गर्न सक्छन् । उहाँले भन्नुभयो सांकेतिक भाषाबाट पढाइ नहुने भएकोले यस क्षेत्रमा अधिकाशं बहिरा विद्यार्थीले कक्षा ५ पछि पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको अभिभावकको गुनासो रहेको छ ।
विगत तिन बर्षदेखि जिल्लाको प्रतापपुर र पाल्हीनन्दनमा संचालनमा रहेको अपांगता समावेशी विकास परियोजनाले अपांगता भएका व्यक्ति तथा उनीहरुको परिवारको आयआर्जन, सीप अभिवृद्धि तथा जिविकोपार्जनको क्षेत्रमा सहयोग गर्नुका साथै क्षमता विकास र संरक्षणका लागि काम गर्र्दै आएको छ ।
परियोजनाले उनीहरुको हक अधिकार सुनिश्चितताका लागि पैरवी गर्ने, अपांगता मैत्री नीति निर्माणमा स्थानीय सरकार तथा सरोकारवालासगँ सहकार्य गर्ने तथा अपांगता भएका बालबालिकालाई शिक्षामा पहुँच बढाउन समेत पहल गर्दै आएको जनाएको छ ।