ताजा अपडेटः

रासायनिक मलकाे आपूर्ति छिटाे छरिताे गर्न नवनिर्वाचित सांसद नरेन्द्र गुप्ताकाे सुझाव

कल्पना खरेल
रासायनिक मलकाे आपूर्ति छिटाे छरिताे गर्न नवनिर्वाचित सांसद नरेन्द्र गुप्ताकाे सुझाव प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार १८:३९

नवलपरासी , फागुन २९ गते । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताले जिल्लामा रासायनिक मलकाे आपूर्ति तथा वितरण प्रक्रियालाई छिटाे छरिताे गर्न सुझाव दिनुभएकाे छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालकाे संयाेजकत्वमा जिल्लामा रासायनिक मलकाे आपूर्ति वितरण सम्बन्धमा बसेकाे बैठकमा बाेल्दै उहाँले यस्ताे सुझाव दिनुभएकाे हाे ।
चालु आ.व.०८२।०८३ का लागि छुट्टाइएको रासायनिक मल कृषि सामाग्री कम्पनी लि. नवलपरासीको गोदाममा मौज्दात रहेकोले प्रकृया पुर्याएर बिक्री वितरणकाे व्यवस्था मिलाउनुुपर्ने उहाँको भनाई थियाे ।
कृषि सामाग्री कम्पनी लि. मा यतिबेला
युरिया ५०० मे.ट., डि.ए.पि. २०० मे.ट., पोटास ३०० मे.ट. र कृषि चुन ३० मे.ट. माैैज्दात रहेकाे छ ।


जिल्लाकाे सातै वटा स्थानीय सरकार, कृषि सामाग्री कम्पनी लि सगैकाे बैठकले स्थानीय तह र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशसँगको समन्वयमा यथासिघ्र कृषि सामाग्री कम्पनी लि. ले विक्री वितरणको व्यवस्था मिलाउने निर्णय समेत गरेकाे छ ।
जिल्लामा ८ हजार ४८० हेक्टरमा धानखेती हुँदै आएपनि माग अनुरूप आपूर्ति नहुदा हालसम्म जिल्लाका किसानहरू भारतीय सिमावर्ती बजारकाे भर पर्नुपर्ने बाध्यता थियाे ।
गत वर्षको तथ्याङ्क अनुसार ३० हजार मेट्रिक टन मल खरिद भएकोमा पाँच हजार ५६२ मेट्रिक टन ‘बफर कोटा’ मा राखिएको थियो। यो करिब एक लाख ११ हजार २४० बोरा हुन आउँछ।

 




Ads