ताजा अपडेटः

रासायनिक मलको अभाव हटाउन मन्त्रालयमा छलफल

कल्पना खरेल
रासायनिक मलको अभाव हटाउन मन्त्रालयमा छलफल प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार १०:३८

पश्चिम नवलपरासी , चैत ११ गते । नेपालमा बर्सेनि देखिने रासायनिक मलको समस्या समाधान गर्न र किसानहरूलाई समयमै मल उपलब्ध गराउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ। पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद नरेन्द्र कुमार गुप्ता सहभागी उक्त छलफलमा मलको वर्तमान अवस्था र आगामी दिनमा माग अनुसारको आपूर्ति व्यवस्थापनबारे छलफल भएको हो।
छलफलले मलको बहावा (चुहावट) रोक्न र वास्तविक किसानसम्म पुर्‍याउन स्थानीय तहसँगको समन्वयलाई समेत प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। छलफलमा सांसद नरेन्द्र कुमार गुप्ताले भन्नुभयो: ” खेतीको समयमा मल नपाउने पुरानो समस्या अब दोहोरिनु हुँदैन , देशभरका किसानलाई आवश्यकता अनुसारको मल समयमै उपलब्ध गराउन सरकारले ठोस कदम चाल्नुपर्छ।”
छलफलमा सहभागी उद्योग मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले मलको आपूर्तिलाई सहज बनाउन मन्त्रालयले प्राविधिक र प्रशासनिक पक्षमा सुधार अवश्यक रहेको जानकारी दिनुभयो। उहाँले किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको र वितरण प्रणालीलाई थप पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, छलफलमा सहभागी कृषि सामग्री संस्थानका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले हालको मौज्दात र आयातको प्रक्रियाबारे जानकारी गराउनुभयो। उहाँले माग अनुसारको मल व्यवस्थापनका लागि संस्थानले बोलपत्र प्रक्रिया र ढुवानीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलमा खेतीको सिजन सुरु हुनुअगावै किसानको हातमा मल पुग्ने सुनिश्चितता गर्ने , वास्तविक आवश्यकताको पहिचान गरी सोही अनुसारको परिमाणमा मल आयात र वितरण गर्ने र हालको आपूर्ति प्रणालीमा रहेका चुनौतीहरूलाई मध्यनजर गर्दै उचित व्यवस्थापन गर्ने बारे छलफल भएको हो।
तस्वीर – वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल ।




Ads