ताजा अपडेटः

सुनवलमा ४७९ छाडा कुकुरलाई बन्ध्याकरण

कल्पना खरेल
सुनवलमा ४७९ छाडा कुकुरलाई बन्ध्याकरण प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार २०:२६

नवलपरासी पश्चिम, चैत्र २ गते । नगरपालिकालाई “ रेविजमुक्त र सुरक्षित बनाउने ” लक्ष्य सहित नपलपरासी पश्चिमस्थित सुनवल नगरपालिकाले छाडा तथा सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन गरेको छ । फागुन २९ गतेदेखि चैत्र २ गतेसम्म अर्थात चार दिनसम्म संचालन गरिएको यस शिविरमा ४७९ छाडा कुकुरलाई बन्ध्याकरण गरिएको सुनवल पशुशाखा प्रमुख मिश्री प्रसाद खड्काले बताउनुभयो ।
शिविर सुनवल नगरपालिकाको आयोजना र प्राईम एनिमल मेडिकल सेन्टर कावासोतीको प्राविधिक सहयोगमा संचालन गरिएको हो ।सुनवल नगरपालिकाको १३ वडामध्ये आठ वटा वडालाई यस पटकको शिविरमा समेटिएको छ । जसमध्ये वडा नम्बर ५,६,७,८,१०,११,१२ र १३ रहेका छन् । छोडुवा कुकुरहरुले गर्दा दैनिक हिनडुल गर्न र किनमेलका लागि बजार आउन जान समेत स्थानियलाई निकै सास्ति भएको थियो ।
पटक पटक छाडा कुकुरले चराउन लगेका गाई,भैसीँ, बाख्रालाई टोकेको,कलेज जाने र स्कुल जाने विद्यार्थीलाई लखेट्ने,झम्टने गरेको स्थानियहरुको गुनासो बढ्न थालेपछि दिर्घकालिन समाधानको लागि छाडा तथा सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन गरिएको सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले बताउनुभयो ।


त्यस्ता कुकुर समात्न चार जनाको डग क्याचरको टिमलाई आवश्यक प्राविधिक सहित परिचालन गरिएको छ । उनीहरुले समाएका कुकुरलाई पशु शाखाबाट डा. तोजनाथ ढकाल, प्राविधिकद्धय मिलन गौतम र नारायण पाण्डेको रोहबरमा बलेरो गाडिमा राखेर सम्बन्धित स्थानमा ल्याइएको छ । नौं वटा वडालाई पाएक पर्ने भन्दै सेन्टर पोइन्टको रुपमा सुनवल १० मा रहेको साविकको सरस्वती आधारभूत विद्यालयलमा उक्त शिविर संचालन गरिएको छ ।
शिविर संचालनपछि कुकुरले टोकेपछि लाग्ने रेबिज, घाउ र संक्रमणको जोखिम, टिटानस संक्रमणको जिखिम देखि मानसिक डर पनि कम हुने स्थानियको विश्वास छ । गतबर्ष मात्र सुनवल नगरपालिकाले छाडा तथा सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन गरि १२७ कुकुरको बन्ध्याकरण गरेको थियो ।


शिविर संचालनका लागि पालिकाको आर्थिक वर्ष २०८२/०८३ को ४ लाख ९६ हजार बजेट छुट्टयाईको छ । प्रत्येक १३ वटै वडामा बर्षेनि २ लाखको दरले बजेट छुट्याएर यो शिविरलाई निरन्तरता दिन सकिए नेपाल सरकारको सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजजन्य मानवीय मृत्यु लाई शून्यमा झार्ने लक्ष्यलाई साथ मिल्ने सुनवल पशुशाखा प्रमुख मिश्री प्रसाद खड्काले बताउनुभयो ।




Ads