सुनवल, साउन ११ गते । नवलपरासी पश्चिम स्थित सुनवल नगरपालिका वडा नम्बर ४ मा रहेको महाकवि देवकोटा क्याम्पसले आज आइतबार २६४ विद्यार्थीलाई २९ लाख ६७ हजार ७ सय बराबरको छात्रवृत्ति वितरण गरेको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उत्कृष्ट विद्यार्थीको हौसला प्रदान गर्ने लक्ष्य सहित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
जसअन्तर्गत जेहेन्दार तर्फ १०८, विविए विआईसिटीई तर्फ उत्कृष्ट ९३, महिला विद्यार्थी १८७, दलित २६, जनजाति ५५, मधेशी ५७, अपांग ३, द्धन्द्धपिडित ३, मुस्लिम छात्रा ८, सिमान्तकृत ११, अल्पसङ्ख्यक ९ र खेलकुद तर्फ ६ जना गरी जम्मा ५ सय ६६ जना आवेदकहरु मध्ये छनोट गरी २६४ जनालाई छात्रवृत्ति वितरण गरिएको हो ।
उक्त छात्रवृत्ति यूजिडि नेपाल, यूजिसि नेपाल, समाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश, छात्रवृत्तिदाता , अक्षयकोषदाता र क्याम्पसको आन्तरिक स्रोतबाट जुटाइएको क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यार्थीलाई कार्यक्रममा सहभागि मात्र नभई हरेक वक्ताहरुले बोलेका कुराहरुलाई पनि ध्यान दिएर सुन्न आग्रह गर्नुभयो । सुन्ने बानीले विद्यार्थीको सिकाईलाई अझ प्रभावकारी बनाउने भन्दै इतिहासको खोजी र राज्यप्रणालीको खोजी गर्न सके मात्र समाज रुपान्तरण हुने धारणा राख्नुभयो ।
उहाँले प्रविधिले मान्छे बनाएको होइन कि प्रविधिलाई मान्छेले बनाएकोले ज्ञान र सिपका लागि मात्र प्रविधिसगँ जोड्न सुझाव दिदै नेपाललै बसेर भविष्य खोज्ने शिक्षाको विकाश आजको आवश्यकता रहेको बताउनुभयो । मन्त्री तिमिल्सिनाले शिक्षालाई प्राथमिकतामा राखेर यहिँ आर्थिक वर्षमा मात्र ४ करोड बजेट विनियोजन गरिएको बताउदै महाकवि देवकोटा क्याम्पसलाई पनि आवश्यक बजेट छुट्याइने बताउनुभयो ।
यसैगरी पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सांसद खड्क बस्नेतले विद्यार्थी भविष्यको कार्णधार मात्र नभई समाज परिवर्तनको जग भएको बताउनुभयो । शिक्षा सिकाइ सगै जीवन परिवर्तन सगँ जोडिएकोले यो पुस्तालाई पनि डोहो–याएर हिडाउने हिम्मत आजको विद्यार्थीमा हुनुपर्ने उहाँको भनाई थियो ।
त्यसैगरी सुनवल नगरप्रमुख विमला अर्यालले यस क्याम्पस देशकै नमुना क्याम्पस भएको भन्दै स्थानिय सरकार शिक्षालाई पहिलो प्राथमिकता राखेर बजेट विनियोजन गर्दै आएको बताउनुभयो । सुनवल नगरपालिकालाई शैक्षिक हबको रुपमा विकाश गर्न सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर अध्ययन अध्यापन हुदै आएको जानकारी गराउदै नगरप्रमुख अर्यालले यसक्षेत्रको सामुदायिक विद्यालयको पढाई संस्थागत विद्यालयको भन्दा उत्कृष्ट रहेको एस.ई.ई र बि.एल.ई को रिजल्टले पुष्टि गरेको बताउनुभयो ।
उहाँले स्थानीय सरकारको मातहतमा रहेको नदिजन्य पदार्थको उत्खननमा प्रदेश सरकारको हस्तक्षेपकारी भूमिका प्रति खेद प्रकट गर्दै अबका दिनमा यस्ता प्रवृत्ति रोक्न सामाजिक विकास मन्त्री तिमिल्सिनालाई आग्रह गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव बसन्त कोइरालाले हाल देशका सामुदायिक क्याम्पसहरुमा विद्यार्थी अभाव देखिएको भएपनि महाकवि देवकोटा क्याम्पसमा १ हजार ४ सय विद्यार्थी रहेकोमा खुसी व्यक्त गर्दै सिपमुलक र व्यवहारीक शिक्षामा जोड दिन सुझाव दिनुभयो । उहाँले शिक्षा रोजगार खोज्ने नभई रोजगार दिन सक्ने भएमात्र बैदेशिक पलाएन रोक्न सकिने भन्दै प्रविधि सगँ जोडिन सबैलाई आग्रह गर्नुभयो ।
उपप्राधापक हरिदत्त शर्माको संचालन र क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको स्वागत रहेको कार्यक्रममा उपप्राध्यापक सूर्यप्रसाद ढकालले छात्रवृत्ति वितरण प्रक्रियाको बारेमा प्रकाश पार्नुभएको थियो ।