नवलपरासी पश्चिम, असार ३२ गते । नवलपरासी पश्चिम स्थित सुनवल नगरपालिकाले २ वर्षभित्र पालिका भित्रको सम्पूर्ण भूमि सम्बन्धि समस्या समाधान गर्ने बताएको छ । भूमि समस्या सम्बन्धि ६ हजार ७ सय १० परेको निवेदनमा भूमि समस्या समाधान आयोग गठन भएसगैँ करिब १ हजार ५ सय कित्ताकाट भइसकेको छ ।
त्यस्तै अझै ५ हजार भन्दा बढिको कित्ताकाट गर्न बाकि रहेकोले दु्रत गतिमा नगरपालिकाबाटै २ टोली बनाएर बिहान ६ बजेदेखि साझँ ६ बजेसम्म कर्मचारीलाई थप भत्ताको व्यवस्था सहित फिल्डमा खटाइएको नगरप्रमुख विमला अर्यालले बताउनुभयो ।
यहिँ असार २० गते मात्र पुरानो भूमि आयोगले गरेको अधुरो कामलाई पूर्णता दिदै ४० बर्षदेखि अव्ययवस्थित बसोबास गर्दै आएका सुनवल ५ को २ सय परिवारलाई लालपूर्जा वितरण गरिएको थियो ।
सुनवल ४ को ५६ वटा पुर्जा बनेर तयार रहेको र वडा नम्बर ११ र १२ का ३३ अव्यवस्थित बसोबासीको जग्गा नापजाँच गरि ७ दिने सुचना प्रकाशन गरेर जग्गाको नक्सा र फिल्डबुक तयार गरी भूूमि समस्या समाधन आयोग नवलपरासीलाई पुर्जा प्राप्तिको लागि हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख अर्यालले स्थानीय सरकार जनताको सरकार भएकोले स्थानीय जनताको प्रमुख समस्याको रुपमा देखिएको भूमि समस्या आफ्नै कार्यकालमा हल गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यसैगरी सुनवल नगरपालिका भित्रको ४५ हजार ४ सय ६८ कित्ता जग्गा कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, वन, नदी,खोला,ताल , सार्वजनिक लगाएत १० भागमा वर्गिकरण कार्य सम्पन्न गरी नापि कार्यालय परासी र मालपोत कार्यालय परासीमा नंक्सा र कित्तागत विवरण पेश गरेको छ ।