सुनवल असार १९ गते । सुनवल नगरपालिकाले डेंगु, मलेरिया लगाएत किटजन्य रोग नियन्त्रण सम्बन्धि अभियान संचालन गर्ने भएको छ । आज विहिबार नगरपालिका स्तरीय अभिमुखिकरण गोष्ठी कार्यक्रममा डेंगु, मलेरिया लगाएत किटजन्य रोग नियन्त्रण सम्बन्धि अभियान संचालन गर्ने जानकारी दिइएको हो ।
सोहि क्रममा बोल्दै नगरप्रमुख विमला अर्यालले “लामखुट्टेको बासस्थान खोजेर नष्ट गरौ ”भन्ने अभियानलाई सुनवल नगरपालिकाको १३ वटै वडामा यहिँ सातादेखिनै अभियानकै रुपमा संचालन गरिने बताउनुभयो । उहाँले त्यसका लागि जनप्रतिनिधि, टोल विकाश समिति, सरोकारवालसगँ समन्वय गर्न स्वास्थ्य शाखालाई आग्रह गर्नुभयो ।
मनसुन सुरु भएसगै डेंगु, मलेरिया लगाएत किटजन्य रोगको प्रकोप बढ्न सक्ने भन्दै पूर्व सतर्कता अपनाउन सचेतना कार्यक्रम संचालन गर्न आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालय परासीका वरिष्ठ मलेरिया इनिस्पेक्टर देवीलाल पौडेलले बताउनुभयो ।
उहाँले एडिस जातिको पोथी लामखुट्टेले डेंगु फैलाउने भएकोले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै खुला ट्यांकी ,कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेका सिसा वा भाँडामा जम्मा भएको पानी तथा खाल्टाखुल्टीमा जम्मा भएको पानीमा फूल पार्ने हुदाँ यस्ता ठाउँमा पानी जम्न नदिन र जमेको पानीलाई पुर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा डेंगु ज्वरावे विरुद्धको खोप समेत उपलब्ध नरहेको हुदा लामखुट्टेको टोकाईबाट जोगिनु नै यस रोगबाट मुख्य उपाय रहेको जानकारी गराइएको थियो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।