नवलपरासी पश्चिम, जेष्ठ ९ गते । नवलपरासी पश्चिम स्थित वर्दघाट नगरपालिका १४ मा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा मिर्गौला पिडितका लागि डायलसिस सेवा संचालन अभियान शुरु भएको छ । अस्पतालमा डायलसिस मेसिन उपलब्ध भएपनि संचालनका लागि आवश्यक आर्थिक स्रोतको अभाव भएपछि मिर्गौला पिडित स्वास्थ्य उपचार सेवा संचालन कार्यदल गठन गरी सहयोग संकलन सुरु गरिएको हो ।
कार्यदलको संयोजक नगर प्रमुद शम्भुलाल श्रेष्ठ रहनुभएको छ । नगरप्रमुख श्रेष्ठले नगर क्षेत्रभित्र हाल ५२ जना मिर्गौला पिडित रहेको र जिल्लाभर २५० जना बिरामी नियमित डायलसिस सेवा लिन बाध्य रहेको बताउनुभयो । हालसम्म डायलसिस सेवा उपलब्ध नहुदा बिरामीहरु छिमेकी जिल्ला बुटवल, चितवन हुदै काठमाण्डौँ जान बाध्य रहेका छन् ।
स्थानीय स्तरमै सो सेवा लिन सक्ने वातावरण निर्माणगर्ने लक्ष्य सहित “एक घर एक हजार” भन्ने नारासहित नगरवासी, उद्योगी , व्यवसायी, संघसंस्थालाई सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । अस्पतालमा ६ वटा डायलसिस मेसिनहरु रहेका छन् जसमध्ये ४ वटा संचालन योग्य अवस्थामा रहेको, दईवटा मेसिन बाटोको समस्याका कारण फिर्ता गरिएको अस्पतालका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । ति मेसिन बनेपछि पुन संचालनमा आउने छ ।
उक्त सेवा संचालनका लागि मासिक २ देखि ३ लाख र वार्षिक झण्डै ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । जनशक्ति तयार भइसकेपनि तलबभत्ता लगायतका नियमित खर्च स्थानीय तहबाट व्यहोर्न कानुनी कठिनाइ रहेकाले आम समुदायबाटै सहयोग संकलन थाएिको हो । यतिबेला पहिलो चरण अन्तर्गत असार मसान्तसम्म आर्थिक संकलन गरेर सेवा संचालन गर्ने लक्ष्य लिइएको छ ।