ताजा अपडेटः

मुख्यमन्त्री आचार्यले १५ वर्षभित्र सिङ्गो लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने घोषणा

कल्पना खरेल
मुख्यमन्त्री आचार्यले १५ वर्षभित्र सिङ्गो लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने घोषणा प्रकाशित मिति: १७ जेष्ठ २०८२, शुक्रबार १८:२८

बुटवल, रुपन्देही — रुपन्देहीको रोहिणीमा नेपालको ठूलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गरेका थिए।

उद्घाटन समारोहमा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्बराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य रहेको बताएका थिए। उनले प्रदेश सरकारले नीति तथा कार्यक्रमको माध्यमबाट सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने योजना अघि सारेको र त्यसको लागि प्रवर्द्धनमुखी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिएका थिए।

रासायनिक मलको अत्यधिक प्रयोगका कारण खाद्यान्न उत्पादनमा गिरावट र नयाँ रोगहरूको उत्पत्ति हुने अवस्थाले लुम्बिनी प्रदेशमा हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीहरूको उपचारमा ठूलो खर्च भएको उनले बताउनुभयो। यसै कारण रासायनिक मल र विषादीयुक्त खाद्य पदार्थ क्यान्सरको प्रमुख कारण बनेका छन्। यस्तो अवस्थालाई ध्यानमा राख्दै मुख्यमन्त्री आचार्यले १५ वर्षभित्र लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने संकल्प व्यक्त गरे।

मुख्यमन्त्री आचार्यका अनुसार सरकारले नीति र कार्यक्रममै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको छ र यसका लागि स्वदेशी प्राङ्गारिक मल उद्योगसँग सहकार्य गर्ने बताएका छन्। उनले पहिला पहाडका ६ जिल्लाहरूलाई प्राङ्गारिक जिल्ला बनाउने र पछि तराईका ६ जिल्लाहरूलाई प्राङ्गारिक बनाउने योजना प्रस्तुत गरेका छन्।

यस अवसरमा उद्योगका सञ्चालक सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले ३० करोड रुपैयाँको लगानीमा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.’ मार्फत मल उत्पादन सुरु गरेका छन्। उक्त उद्योगले प्रत्येक दिन २०० मेट्रिक टन मल उत्पादन गर्ने क्षमता राख्छ र हाल ‘रत्नम’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गर्दै आएको छ।

कार्यक्रममा पूर्व सांसद घनश्याम यादव, प्रमोद यादव, र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादव लगायतका व्यक्तिहरूले नेपालको ठूलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आएपछि किसानहरूले मलको अभावको सामना नगर्ने विश्वास व्यक्त गरे।

उद्योगका संचालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था र स्वदेशी प्राङ्गारिक मलको बजारमा प्रोत्साहनका लागि सरकारसँग सहयोगको माग गरेका छन्। उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना संक्रमणका कारण आफ्ना परिवारका सदस्यलाई गुमाउनुपरेको र त्यहीबाट उत्पन्न समस्यालाई समाधान गर्न प्राङ्गारिक मल उद्योग खोल्ने निर्णय लिएको स्मरण गराइन्।