नवलपरासी पश्चिम, वैशाख २३ गते । नवलपरासी पश्चिम स्थित बर्दघाट २ चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समुहले बर्दघाट १२ भटौलियाकी अति विपन्न एकल महिला चानमति हरिजनलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
सामुदायिक वनलेसामाजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत आफ्नो उपभोक्ता सदस्यहरुमध्ये सबैभन्दा विपन्न रहेकी चानमतिलाई दुई कोठो घर निर्माण गरी एक कार्यक्रममा विच हस्तान्तरण गरेको हो ।
२०३० सालदेखि भटौलियामा नै बस्दै आउनुभएको ७० वर्षिय चानमतिलाई चिसापानी सामुदायिक वन उपभोक्ता समूहको घर निर्माण संयोजक महेन्द्र काफ्लेले आफ्नो २ धुर जग्गा निशुल्क उपलब्ध गराउनुभएको थियो । सामुदायिक वनको ६ लाख ३० हजार लागतमा समुदायको सहयोगमा २५ दिनमा जस्तापाता लगाएको पक्की घर निर्माण गरिएको थियो ।
घर हस्तान्तरण कार्यक्रम चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुुर गुरुङको अध्यक्षता एवं लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी वनमन्त्री कलवारले हरेक सामुदायिक वनले स्वास्थ्य, शिक्षा र आवास जस्ता क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले आफु वनमन्त्री बनेको छोटो ६ महिनाको अवधिभित्र पहिलो पटक सामुदायिक वनले यसरी विपन्नलाई घर निर्माण गरेर हस्तान्तरण गरेको देखेको समेत बताउनुभयो ।
कार्यक्रममा संस्थाको अध्यक्ष होमबहादुर गुरुङले विद्यालय, प्रहरी चौकी, अस्पताल जस्ता संस्थामा पनि चिसापानी सामुदायिक वन उपभोक्ता समुहले फर्निचर तथा आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।