ताजा अपडेटः

सञ्चारमैत्री बजेट निर्माणका लागि मुख्यमन्त्रीलाई प्रेस चौतारीको आग्रह

कल्पना खरेल
सञ्चारमैत्री बजेट निर्माणका लागि मुख्यमन्त्रीलाई प्रेस चौतारीको आग्रह प्रकाशित मिति: १५ जेष्ठ २०८२, बुधबार २०:३६

दाङ, बैशाख १४ । प्रेस चौतारी नेपालले सञ्चारमैत्री बजेट निर्माणका लागि लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेको छ ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको टोलीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर सञ्चारमैत्री बजेट निर्माणका लागि आग्रह गरेको हो ।

प्रदेश सरकारले गठन गरेको सञ्चार समन्वय परिषद्लाई व्यवस्थित गर्दै सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिए ।

चौतारीको प्रतिनिधि टोलीसँग मुख्यमन्त्री आचार्यले सञ्चार समन्वय परिषदसम्बन्धी ऐन संशोधनको प्रक्रियालाई अघि बढाएको जानकारी दिए । मुख्यमन्त्री आचार्यले परिषदलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले ऐन संशोधन गर्न लागिएको र प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, “नीति तथा कार्यक्रममा समेत सञ्चारलाई प्राथमिकतामा राखेका छौं ।” उक्त अवसरमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष अर्यालले सञ्चार समन्वय परिषदको भूमिकालाई थप प्रभावकारी बनाउँदै सञ्चार क्षेत्रको सशक्तीकरणमा जोड दिन आग्रह गरे ।

पूर्व अध्यक्ष अर्यालले सञ्चारकर्मीहरूका समस्या समाधान, सञ्चार संस्थाहरूको समन्वय तथा सञ्चार नीतिहरूलाई व्यवहारिक बनाउने दिशामा सरकारले यथाशक्य पहल गर्नुपर्नेमा जोड दिए ।

भेटमा प्रेस चौतारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज टीकाबहादुर बस्नेतले सञ्चार क्षेत्रको बजेटलाई एकीकृत गर्न आग्रह गरे । सरकारले सञ्चार क्षेत्रमा ठूलो परिमाणमा बजेट बिनियोजन गरेको भए पनि उक्त बजेट एकीकृत नहुँदा सञ्चार क्षेत्रसम्म पुग्न नसकेको भन्दै इञ्चार्ज बस्नेतले आगामी आर्थिक वर्षको बजेटलाई सञ्चार समन्वय परिषद्कै मातहतबाट परिचालन गर्न आग्रह गरे ।

उक्त अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश ज्ञवाली, सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा (मिलन), पूर्व केन्द्रीय सचिव भरत केसीलगायतको उपस्थिति थियो ।

यसैबीच प्रेस चौतारी नेपालको टोलीले आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, सचिव लोकबहादुर सुनार, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीसँग पनि भेटघाट गरी सञ्चार समन्वय परिषद्लाई व्यवस्थित गर्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक घिमिरेले जानकारी दिए




Ads