कल्पना खरेल
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार ०८:३२ पश्चिम नवलपरासी, बैशाख १७ गते । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद विक्रम खनालले प्रतापपुर गाउँपालिका वडा नं. ५ भैरवपुरका आगलागी पीडित परिवारहरूलाई राहत सामग्री वितरण गर्नुभएको छ। केही दिनअघि भएको आगलागीबाट विस्थापित भएका परिवारहरूको अवस्था बुझ्न पुनः घटनास्थल पुग्नुभएका सांसद खनालले पीडितहरूसँग भेटघाट गर्दै तत्काल आवश्यक पर्ने सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो।
अत्यावश्यक सामग्रीहरू (फिल्टर, टारपोलिन, औजार, भाँडाकुँडा, सोलार बत्ती आदि) पीडित परिवारलाई प्रदान गरियो ।राहत वितरणका क्रममा सांसद खनालले यस कठिन घडीमा आफू सधैँ पीडितहरूको साथमा रहेको र उनीहरूको समस्या समाधानका लागि संघीय सरकार तथा अन्य निकायहरूसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वितरण गरिएको राहत सामग्री रोटरी क्लब अफ काठमाडौंको सहयोग र सुलभ खनालको समन्वयमा प्राप्त भएको हो । उक्त सामग्रीहरू दधि पौडेलको सहकार्यमा स्थानीय स्तरमा उपलब्ध गराई पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।