कल्पना खरेल
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार १३:०१ पश्चिम नवलपरासी, चैत १८ गते । नवलपरासी (पश्चिम) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सांसद विक्रम खनाल आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको घरदैलोमा व्यस्त हुनुहुन्छ। पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र नम्बर १ का जनप्रतिनिधि यतिबेला गाउँ-गाउँ पुगेर जनताका विविध समस्या र गुनासो सुन्नमा सक्रिय हुनुभएको हो।
भौगोलिक विविधता र जनसम्पर्क मधेश, तराई र पहाडी समुदायको संयुक्त भूगोल रहेको यस निर्वाचन क्षेत्रको सुस्तादेखि बर्दघाटको विकट पहाडी वस्ती सुखौरासम्म सांसद खनाल पुग्नुभएको छ। उहाँले विभिन्न समुदायका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको दैनिक जनजीविकासँग जोडिएका विषयवस्तुमा केन्द्रित रहेर छलफल गरिरहनुभएको छ।
नागरिकहरूको घरदैलोमा क्रममा सांसद खनालले सार्वजनिक सरोकारका विषयलाई उच्च प्राथमिकता दिनुभएको छ। विशेष गरी लामो समयदेखि अलपत्र अवस्थामा रहेका विभिन्न विकास निर्माणका योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन र समयमै सम्पन्न गर्न उहाँले विशेष चासो देखाउनुभएको छ।
सरकारी निकायहरूबाट हुने सेवा प्रवाहलाई चुस्त, दुरुस्त र जनमैत्री बनाउनका लागि जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरूसँग आवश्यक समन्वय र सहकार्यलाई उहाँले तीव्रता दिनुभएको छ।
निर्वाचन लगत्तै जनताको बीचमा पुगेर समस्या बुझ्ने र ती समस्या समाधानका लागि केन्द्रदेखि जिल्ला तहसम्म पहल गर्ने उहाँको यो सक्रियतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। जनताको प्रत्यक्ष सरोकार रहने सार्वजनिक सेवा र विकासका काममा कुनै ढिलासुस्ती हुन नदिने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ।
एक जिम्मेवार जनप्रतिनिधिको रूपमा सांसद खनालको यो अभियानले विकास निर्माणमा देखिएका गाँठो फुकाउन र सुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
तस्वीर –