सुनवल, जेठ १२ गते । श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुनवल ७ र ८ नवलपरासी पश्चिमको ९ औ स्थापना दिवस समारोह तथा खुल्ला रक्तदान कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गुप्तबहादुर केसीको अध्यक्षता एवं खानेपानी तथा सरसफाई कार्यालय नवलपरासीका प्रमुख प्रकाश न्यौपानेको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
स्थापना दिवसको अवसर पारेर श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरसफाई अभियान, रक्तदान कार्यक्रम र मठमन्दिर, वडा कार्यालय र चोकचोकमा डस्बिन वितरण गरेको छ ।
३० थान डस्बिन खानेपानी तथा सरसफाई कार्यालय नवलपरासीले सौजन्य दिएको हो भने ४१ पोइन्ट रगत संकलन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानेपानी तथा सरसफाई कार्यालय नवलपरासीका प्रमुख प्रकाश न्यौपानेले संस्थाले गरेको सामाजिक कार्यहरुले समाजमा सकारात्मक सन्देश दिने भन्दै सेवा प्रदायक संस्थाको रुपमा काम गर्न आग्रह गर्नुभयो ।
उहाँले खानेपानी आयोजनाहरु सरकारको लगानीमा निर्माण भएर नियमित संचालन र मर्मत सम्हारको कामहरु उपभोक्ता संस्थाको माध्यमबाट गर्ने भएकोले स्वच्छ खानेपानी पिउन पाउने उपभोक्ताको मौलिक हकलाई परिपूर्ति गर्न संस्था उत्तरदायी हुनुपर्ने धारणा राख्नुभयो।
यसैगरी सोहि क्रममा बोल्दै खानेपानी महासंघका जिल्ला अध्यक्ष देवीदत्त सापकोटाले खानेपानी संस्थाको हकहित, विकाश र संरक्षणका लागि काम गर्नुनै खानेपानी महासंघको उदेश्य भएकोले आवश्यक पर्दा सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी संस्थाका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार संयोजक वसन्तराज दाहालले खानेपानी संस्थाको पछिल्लो पटक संरचनागत विकाश, डिजिटल प्रविधि जडान , बगैचा निर्माण देखि कार्यालयको दैनिक कामकाज प्रविधिसगँ जोडिएकोले तुलनात्मक रुपमा प्रगतिले फट्को मारेको बताउनुभयो ।
विगतलका कार्यसमितिदेखि हालसम्मको यात्रा कठिनपूर्ण रहेकोले आलोचना भन्दा विकाशका काममा हातेमालो गरेर अगाडि बढ्न सबैलाई सुझाव दिनुभयो । सचिव सानुबाबु श्रेष्ठको संचालन र उपाध्यक्ष सिता गुरुङको स्वागत रहेको कार्यक्रममा सल्लाहकार समितिको सदस्य हरिबहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
हालसम्म यस श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सुनवल वडा नम्बर ७ र ८ गरेर २ हजार ४ सय ६७ धारा जडान गरिएको संस्थाका अध्यक्ष गुप्तबहादुर केसीले बताउनुभयो ।