नवलपरासी पश्चिम, साउन ८ गते । भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासीले ५५ अव्यवस्थित बसोबासीलाई जग्गा धनि पूर्जा वितरण गरेको छ । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतित्थ्यतामा पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर ४ मा आज बिहिबार जग्गा धनि पूर्जा वितरण गरिएको हो ।
वडामा भरिएका ८५० अव्यवस्थित फारमध्ये ५५ अव्यवस्थित बसोबासीलाई जग्गा धनि पूर्जा वितरण गरिएको र बाकि ७९५ अव्यवस्थित बसोबासीको जग्गा नापजाचँ, चौकिल्ला र मुजुल्का समेतको कार्यहरु गरिसकिएकोले केहिँ दिनमा दाबि विरोधको सूचना प्रकाशन गर्ने प्रकृयामा रहेको वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले बताउनुभयो ।
बसोबास गरेको ४० वर्षमा लालपूर्जा पाउदा यतिबेला स्थानियबासी निकै हर्षित देखिएका छन् । सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले पालिका भित्र रहेका ६ हजार ७१० भूमिहीन दलित, भूमिहील सुकु्म्बासी र अव्यवस्थित बसोबासीको १ बर्षभित्र सम्पूर्ण जग्गा नापनक्सा गरेर लालपूर्जा वितरण गरिने बताउनुभयो । सुनवलमा वडा नम्बर ४, ५, ६ र १३ मा जग्गा नापजाचँ प्रकृया भैरहेका छन् । वडा नम्बर ११ र १२ को दर्ता प्रकृयामा रहेको छ ।
यसअघि मात्र असार २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी ६७ र १५५ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनि प्रमाण पूर्जा वितरण गरिएको थियो । जिल्लाभित्र लगभग २२ हजार भूमिहीन दलित, भूमिहील सुकु्म्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लाल बहादर गुरुङले बताउनुभयो ।
जिल्ला भित्र रहेको ३ वटा नगरपालिका र ४ वटा गाउँपालिका मध्ये प्रतापपुर गाउँपालिका , सुस्ता गाउँपालिका र सरावल गाउँपालिकामा नापचाँप कार्य भइरहेको छ । भने पाल्हिनन्दन गाउँपालिकामा ३५ दिने सूचना निकालेर वडामा फारम भर्ने कार्य भइरहेको छ ।
रामग्राम नगरपालिकाको वडा नम्बर ११ र १४ मा पुर्जा वितरणको तयारी भइरहेको छ । त्यसैगरी बर्दघाट नगरपालिकाको वडा नम्बर ५ मा केहिँ दिनमा एक सय अव्यवस्थित बसोबासीको लालपूर्जा वितरण गरिने भूमि समस्या समाधान आयोग नवलपरासीले जनाएको छ ।