सुनवल, जेठ २८ गते । नवलपरासी पश्चिम स्थित सुनवल नगरपालिका वडा नम्बर ११ का ६५ बर्षका मान बहादुर पुलामी यतिबेला हाते टेक्कर पाउँदा मख्ख हुनुहुन्छ । उहाँलाई मेसिनरी औजारले पनि खेती गर्छन् भन्ने कुरा अहिलेसम्म थाहैँ थिएन । मान बहादुर भन्नुहुन्छ “बजारतिर रासनपानी लिन झर्दा गाइगुने सुन्ने गर्थे , अहिले प्रत्यक्ष देख्दा दंग छु । पुलामीको सात पुस्ताले गोरुले जोतभोग गरी खेती गर्दै आएका थिए ।
उहाँमात्र होइन धुर्कोद फेदीका ५७ बर्षिय चेत बहादुर ठाडा मगर धान रोप्ने समयको मुखमा स्थानिय तहले हाते टेक्टर वितरण गर्दा निकैनै हर्षित हुनुहुन्छ । चेन बहादुर भन्नुहुन्छ “हल गोरु पाल, घामपानी नभनी घासँ खुवाउनुपर्ने, खेताला बढि लाग्दा खर्चिलो हुने” निकै समस्या थियो । अहिले हाते टेक्टर पाउदा खर्चिलो कम हुने, उब्जाउ बढि हुन्छकी भन्ने आश पलाएको छ ।
त्यसैगरी लामो समयदेखि बेमौसमी तरकारी खेती गर्दै आउनुभएका माथिल्लो धुर्कोटका ५५ बर्षिय हरि बहादुर बारघरलाई हाते टेक्टरले सहज र सरल तरीकाले खेती गर्न पाउने आशा पलाएको छ । उहाँले बाझो जग्गामा पनि अब जोतभोग गरेर बेमौसमी तरकारी खेती गर्ने सोच बनाउनुभएको छ । हरि बहादुर भन्नुहुन्छ “ हाते टेक्टर पाउदा मलाई काम गर्ने अझ उर्जा थपेको छ । अनुभव नयाँ छ , राम्रो भयो भने तरकारी खेतीलाई बढाउन्छु ,१–२ जनालाई रोजगार पनि दिन्छु ।”
आज बिहिबार सुनवल नगरपालिका वडा नम्बर ११ स्थित अति विकट क्षेत्र मानिने चार गाउँमा कृषि औजार अन्तर्गत हाते टेक्टर वितरण गरिएको थियो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्विकृत बजेट अन्तर्गत धुर्कोदफेदी, माथिल्लो धुर्कोट, बेहोरे र मिजा दमार गाउँमा करिब साढे ७ लाख बराबरको हाते टेक्टर वितरण गरिएको हो ।
सामुहिक भावनाको विकास गर्ने परिकल्पना सहित ८ जना बराबर १ हाते टेक्टर गरी करिब ८० घरधुरीलाई समुहमा विभाजन गरेर १० वटा हाते टेक्टर वितरण गरिएको वडा नम्बर ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाईले बताउनुभयो ।
अनुदानमा वितरण गरिएको हाते टेक्टरको पूर्ण स्वामित्व समुहको रहने हुदा त्यसको प्रयोग देखि मर्मतसंहारको जिम्मा समुहको रहनेछ । नगरप्रमुख विमला अर्याले कृषिलाई प्राथमिकतामा राखेर जनको जिवनस्तरमा सुधार ल्याउन कृषियन्त्र वितरण गरिएको बताउनुभयो । उहाँले पाएको उपकरणलाई राम्रोसगँ सदुपयोग गर्न आग्रह गर्दै उत्पादनमा बृद्धि गर्न सुझाव दिनुभयो ।
तिन बर्षभित्र बाटोघाटो, विद्युत देखि कृषि औजार को पहुच समेत पु–याउन सफल भएकोमा खुसी व्यक्त गर्दै नगरप्रमुख अर्यालले स्वच्छ खानेपानीलाई समेत प्राथमिकतामा राखेर आगामि कार्ययोजना बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा सचिव कृष्ण बहादुर आलेको संचालन रहेको कार्यक्रममा वडा सदस्य तारा सुनारको स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।