ताजा अपडेटः

बर्षाले सडक भासियो : बुटवल–नारायणगढ खण्डको यातायात सेवा अवरुद्ध

कल्पना खरेल
बर्षाले सडक भासियो : बुटवल–नारायणगढ खण्डको यातायात सेवा अवरुद्ध प्रकाशित मिति: १७ जेष्ठ २०८२, शुक्रबार ११:०२

नवलपरासी । अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रका विभिन्न स्थानमा सडक भासिँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

गए राति १ बजेपछि परेको अविरल वर्षासँगै दाउन्ने क्षेत्रको खुर्सानी खोलामा सडक भासिएको र दुम्किबासस्थित बिनयी खोला तथा चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन समेत बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ। खोलामा पानीको बहाव उच्च भएकाले सडक मरम्मत कार्यमा समेत कठिनाइ भएको जनाइएको छ।

यातायात अवरुद्ध भएपछि सडक प्रयोग गर्ने सवारी साधनहरू लामबद्ध रूपमा क्यूमा बस्नुपरेको छ । ट्राफिक प्रहरीले निर्माण कार्य सम्पन्न नभएसम्म यात्रु तथा सवारी चालकहरूलाई धैर्यपूर्वक ट्राफिक नियम पालना गर्दै क्यूमा बसेर सहयोग गर्न अनुरोध गरेको छ ।

प्रहरीका अनुसार निर्माण कार्य सम्पन्न हुन केही समय लाग्ने भएकाले यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ । पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई हालको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सुझाव दिइएको छ ।

सडक अबरुद्ध भएसँगै उक्त क्षेत्रका स्थानीय बासिन्दा र लामो दूरीका यात्रुहरू प्रभावित भएका छन् । ट्राफिक प्रहरीले सुरक्षाका मापदण्डहरू अपनाएर बाटो खुलाउने कार्यमा सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ ।




Ads