नवलपरासी पश्चिम, वैशाख १९ गते । नवलपरासी पश्चिमको सरावल गाउँपालिकाले डुबान नियन्त्रण गर्न धनेवा खोलाको तटबन्ध मर्मत कार्य अगाडि बढाएको छ । वर्षेनी झेल्दै आएको सरावल गाउँपालिका वडा नम्बर ६ मा रहेको धनेवा खोलाबाट बस्ती डुबान र कटानको समस्यालाई नियन्त्रण गर्न तटबन्ध मर्मत कार्य अगाडि बढाइएको हो ।
डुबान नियन्त्रण गर्न बनाएको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर )अनुसार गण्डकको सहकार्यमा तटबन्ध मर्मत कार्य अगाडि बढाइएको गाँउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।
धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उक्त धनेवा खोला व्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोस्रो निर्माण गरी दुई भागमा निर्माण गर्ने गरी (कुल भ्याट )सहित ४९ करोड ६६ लाख ७६ हजार ७ सय १२ रुपैया लागत लाग्ने उल्लेख छ ।
डिपिआर बनाएर संघ र प्रदेशसगँ पटक पटक बजेट माग गरिएपनि कुनैपनि सरकारले बजेट विनियोजन नगरे पछि आफ्नै स्रोतले गाँउपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको अध्यक्ष चौधरीको भनाई छ । उहाँ भन्नुहुन्छ “विगत तिन दशक देखि डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरुको आवश्सन मात्र रह्यो ।”
जनताको सबै भन्दा नजिकको सरकार भएकाले उपलब्ध साधन स्रोत अनुसार समस्यालाई थोरै थोरै भएपनि समाधान गर्दै लैजाने गाउँपालिकाले बताएको छ । डुबान रोक्न पालिका स्तरबाटै लगानी गरेर धनेवा बाँधको उचाई थप्ने कार्य यो दोस्रो पटक गरिएको हो ।
धनेवा खोलाको अधिकाशं भाग सरावल गाउँपालिकाको ४ वटा वडालाई छोएकोे छ । खोलाको सिमा प्रतापपुर गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका र केहि भाग वर्दघाट नगरपालिकालाई समते छोएको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भएपनि यो झहरी खोलामा मिसिदै भारततर्फ प्रवेश गरेको छ । खोलाको उचित तटबन्ध मर्मत कार्य नहुदा बर्षेनी हजारौ विघा खेत डुबानमा पर्दै आएको थियो ।