फागुन २१, परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकाे अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गरेको फैसलाले अध्यक्ष गुप्ता सहित दुई जनालाई लागुऔषधमा कसुर ठहर गरेको हो।
कसुर ठहर हुने अर्कामा गाउँपालिकाका नगर प्रहरी रघुनाथ प्रसाद धोबी रहेका छन् । उनी सोही अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामै छन् । सफाई पाउनेमा रामा गुप्ता भन्ने रामा साह र जीतेन्द्र पासवान छन्। उनीहरू भारतीय नागरिक हुन्। अभियोग लागेका पाल्हीनन्दन गाउँपालिका-३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन्।
अध्यक्ष सहित धोबीलाई कसुर ठहर गरे पनि सजाय निर्धारणका लागि भने पेशी तोकिएको छ। आउँदो फागुन २९ गते सजाय निर्धारणको फैसला हुने अदालतका शाखा अधिकृत सूचना अधिकारी भेषराज खनालले जानकारी दिनुभयाे ।
लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिबाना हुने भन्दै सजाय ठहर फैसलामा भनिएको छ ।
आदेश अनुसार अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत हुनेमध्ये आधा सजाय पाउने शाखा अधिकृत खनालले जानकारी दिनुभयाे ।
घटनापश्चात रघु, रामा र जीतेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो। साह र पासवान सर्वोच्चबाट धरौटीमा यसअघि रिहा भइसकेका छन्। स्राेत :- अन्नपूर्ण पाेष्ट