ताजा अपडेटः

राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन कार्तिक १८ र १९ गते नवलपरासीमा हुदै

राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन कार्तिक १८ र १९ गते नवलपरासीमा हुदै प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार २०:२०

कल्पना खरेल,नवलपरासी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आगामी कात्तिक १८ र १९ गते पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ ।  राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले आज मंगलबार परासीमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सुनवल स्थित रिवर्न होटलमा अधिवेशन गर्न लागिएको जानकारी दिएको हो ।
पूर्व तयारी तीव्र रुपमा भईरहेको  अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३ सय २४ प्रतिनिधि सहभागि हुने र त्यसका लागि भोलीसम्ममा सबै जिल्लामा प्रतिनिधि छनौट भईसक्ने आयोजक कमिटीका संयोजक प्रितम पौडेलले जानकारी दिनुभयो ।
अधिवेशनले  प्रदेश अध्यक्ष १,उपाध्यक्ष १,सचिव १, सहसचिव २ र कोषाध्यक्ष सहितको ६ जना पदाधिकारी सहित ८७ सदस्यीय प्रदेश कमिटी चयन गर्ने  छ ।  कात्तिक १८ गते हुने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रभावशाली युवा नेता महेश बस्नेत, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे, महा-सचिव सुमन पुरी लगायतका पदाधिकारीकाे उपस्थिति रहने  छ भने प्रमुख अतिथि केही दिनमै टुंगो लाग्ने युवा संघले जनाएको छ ।
नवलपरासीमा हुने प्रदेश अधिवेशनलाई मध्यनजर गर्दै आजै परासीमा सचिवालय स्थापना गरिएको छ । मनमोहन स्मृत्ति भवनमा स्थापना गरिएको प्रदेश अधिवेशन सचिवालयको राष्ट्रिय युवा संघका केन्द्रीय महा-सचिव सुमन पुरीले उद्घाटन गर्नुभयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका महा-सचिव पुरीले युवा संघको लुम्बिनी प्रदेश अधिवेशन ऐतिहासिक रुपमा सर्वसम्मत नयाँ नेतृत्व चयन  गर्दै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयाे ।
राष्ट्रिय युवा संघ आवाज विहिनहरूकाे आवान रहेकाे बताउदै महा-सचिव पुरीले  मुलुकलाई समृद्ध बनाउने सक्ने एकमात्र पार्टी भनेकै नेकपा एमाले रहेको टिप्पणी गर्नुभयाे । युवा संघको अधिवेशन सगैँ एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा अगाडि बढेकाे भन्दै महा-सचिव पुरीले जनताको आवश्यकतालाई एक मात्र लक्ष्य बनाएकाे दाबी गर्नुभयो ।
अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सह-संयोजक सुरज खरेलले बताउनुभयो। उहाँका अनुसार ११३ सदस्यीय आयोजक कमिटीका स्वतः प्रतिनिधि हुनेछन् भने १०९ पालिका र जिल्ला कमिटीबाट २११ गरि ३२४ प्रतिनिधिसहित पर्यवेक्षक तथा अतिथि गरि साढे तीन सय बढीले अधिवेशनमा सहभागिता जनाउनेछन् ।



Ads