ताजा अपडेटः

दाउन्नेको विकल्पमा त्रिवेणी–दुम्किबास सडक: दुई दशकदेखि अलपत्र योजना

कल्पना खरेल
दाउन्नेको विकल्पमा त्रिवेणी–दुम्किबास सडक: दुई दशकदेखि अलपत्र योजना प्रकाशित मिति: २६ चैत्र २०८२, बिहीबार १४:५२

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, चैत २६ गते । बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डको जोखिमपूर्ण यात्राका कारण आजित भएका सर्वसाधारणका लागि त्रिवेणी–दुम्किबास सडक एक ‘लाइफलाइन’ मानिएको छ । तर, २० वर्षअघि सुरु भएको यो योजना अझै अलपत्र छ । यो सडकले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (सुस्ता गाउँपालिका) हुदै पूर्वी नवलपरासी –( नवलपुर ) को निर्वाचन क्षेत्र नं. २ (दुम्किबास) लाई सिधा जोड्ने सामर्थ्य राख्दछ ।

साविकको नवलपरासी जिल्ला हुँदा आजभन्दा करिब धैरे वर्षअघि धार्मिक गुरु कमलनयनको अगुवाइ र संघीय सरकारको करोडौँ बजेटमा त्रिवेणीदेखि दुम्किबाससम्मको सडक खण्डको ट्रयाक खोल्ने काम भएको थियो । १५ वर्षअघि नै ट्रयाक खुलेर करिब १८ किलोमिटर लम्बाइको यो सडकले आकार लिए पनि हालसम्म निर्माण कार्य ठप्प छ ।

सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा पर्ने भएकाले कानुनी जटिलता देखाउँदै लामो समयदेखि निर्माण रोकिएको हो । स्थानीय बासिन्दाहरूले राज्यको लगानी र योजनामाथि गम्भीर प्रश्न उठाएका छन् ।

“यदि कानुनी अड्चन वा निकुञ्जको समस्या थियो भने सुरुमै किन करोडौँ बजेट विनियोजन गरेर ट्रयाक खोलियो ?” स्थानीयको आक्रोश छ, “एकातिर राज्यकोषको करोडौँ रकम खर्च गर्ने र अर्कोतिर कानुनको बाधक देखाएर योजना अलपत्र पार्नु विकास होइन ।” यदि त्यो क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज जस्तो संवेदनशील क्षेत्रमा पर्ने थियो भने, योजना सुरु गर्नुअघि नै कानुनी र वातावरणीय अड्चनबारे अध्ययन नगर्नुले सरकारी निकायहरूबीचको समन्वयको अभावलाई पुष्टि गर्छ।

पश्चिम नवलपरासी–१ का सांसद विक्रम खनाल जनताको सास्तीलाई मुख्य मान्दै त निर्माणको काम शुरूवात गर्नुपर्ने मा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “दाउन्नेको जाम र सडकको दुरावस्थाका कारण जनताले वर्षौँदेखि सास्ती भोगिरहेका छन्। करोडौँ खर्चेर १५ वर्षअघि नै ट्रयाक खोलिसकेको सडकलाई निकुञ्जको नाममा रोकेर राख्नु विकासके कदम होइन । राज्यको लगानी खेर जान दिनु हुँदैन, कानुनी गाँठो फुकाएर भए पनि यो सडक तत्काल सञ्चालनमा ल्याउनुपर्छ।”

यो सडक निर्माण सम्पन्न भएमा पश्चिम नवलपरासीको हुलाकी सडक हुँदै यात्रुहरू पूर्वी नवलपरासीको त्रिवेणी र त्यहाँबाट सिधै दुम्किबास निस्कन सक्नेछन्। यसले गर्दा बर्दघाट–दाउन्ने खण्डको घुमाउरो र जामयुक्त सडक प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ। स्थानीयका अनुसार १५ वर्षअघि नै यसको ट्रयाक खोलिए पनि सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले कानुनी जटिलता देखाउँदै काम रोकिएको छ।

पूर्वी नवलपरासी–( नवलपुर ) २ का, सांसद मनिष खनालले वातावरणीय र कानुनी पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। उहाँ भन्नुहुन्छ, “त्रिवेणी–दुम्किबास सडकको महत्त्व छ, तर यो क्षेत्र विश्व सम्पदा सूची र राष्ट्रिय निकुञ्जसँग जोडिएको हुनाले अन्तर्राष्ट्रिय सन्धि र वातावरणीय कानुनको उल्लंघन गर्न मिल्दैन। हामीले ‘ कानुनी निकास खोज्नुपर्छ, ”

दाउन्ने खण्डमा हुने सडक दुर्घटना र घण्टौँ लामो ट्राफिक जामबाट मुक्ति पाउन यो सडक सबैभन्दा छोटो र उपयुक्त विकल्प हो । त्रिवेणी धाम जस्तो महत्वपूर्ण धार्मिक स्थल र भारतीय सीमानाकालाई पहाडी भूगोल नछोई राजमार्गसँग जोड्न यसले ठूलो भूमिका खेल्नेछ । बर्दघाट–दाउन्ने–दुम्किबासको कठिन यात्राभन्दा यो खण्ड निकै सहज र छिटो हुने निश्चित छ।

यता, त्रिवेणी क्षेत्रका बासिन्दाहरूलाई आफ्नै गाउँपालिका जान लुम्बिनी प्रदेशको बर्दघाट नाका भएर घुम्नुपर्ने बाध्यता हटाउन र धार्मिक पर्यटन प्रवर्द्धन गर्न यो सडक निर्माण आवश्यक छ। यदि यो सडक विस्तार भएमा दाउन्नेको कठिन यात्रा र घण्टौँ लामो ट्राफिक जामको दीर्घकालीन समाधान हुने निश्चित छ। स्थानीयले संघीय सरकारलाई ‘इको–फ्रेन्डली’ मोडेल अपनाएर भए पनि यो सडकलाई पूर्णता दिन दबाब दिँदै आएका छन्।

निकुञ्जको संरक्षण गर्दै पर्यावरण मैत्री सडक निर्माणको मोडेल अपनाएर भए पनि यो रणनीतिक मार्गलाई सञ्चालनमा ल्याउन स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन् । अहिले बुटवल–नारायणगढ सडक विस्तारको सुस्त गतिले सर्वसाधारणले चरम सास्ती भोगिरहेका छन् । यस्तो अवस्थामा संघीय सरकारले राष्ट्रिय निकुञ्जसँग समन्वय गरी कानुनी गाँठो फुकाउनु र त्रिवेणी–दुम्किबास सडकलाई प्राथमिकतामा राख्नु अपरिहार्य देखिन्छ ।

तस्वीर – प्रधानमन्त्री बालेन शाहसँग सडक बारे जानकारी गराउदै सांसद ।




Ads