नवलपरासी पश्चिम, असार २८ गते । नवलपरासी पश्चिम स्थित वर्दघाट बजार क्षेत्र नजिकै रहेको चुरे क्षेत्रमा जनश्रमदानबाट वर्दघाट हिलपार्क निर्माणकार्य सुरु भएको छ । विश्व वातावरण दिवस २०२५ अर्थात जेष्ठ २३ गते विभिन्न जातका फलफुलका बोटहरु, फुलहरु देखि अन्य बोटविरुवाहरु रोप्ने, चौपारी बनाउने, पोखरी खन्ने ,पार्क परिसरको झाडि सफाई गर्ने जस्ता कार्यसहित यो अभियानसुरु भएको थियो ।
अहिले उजाड वन क्षेत्रलाई हरियाली सहितको सौदर्यकरण गरेर चुरेको पर्यावरण संरक्षण गर्ने भन्दै दैनिक सयको हाराहारीमा श्रमदानको लागि जुट्ने गरेका छन् । उक्त हिलपार्कको निर्माण सगैँ सो क्षेत्रको पहिचान देखि सामाजिक र आर्थिक रुपमा समेत लाभ लिन सकिने संभावना रहेको उक्त अभियानमा जोडिनुभएको मुख्य अभियान्ता रामप्रसाद पौडेलको भनाई छ ।
वर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको पारिजात सामुदायिक वन क्षेत्रमा निर्माण गर्न लागिएको वर्दघाट हिलपार्क हेर्नकै लागि अहिले दैनिकजसो बिहानमा मानिसहरु आउने गरेका छन् । पार्क क्षेत्रबाट वर्दघाट बजार मात्र होइन सुनवल देखि सुस्ताको त्रिवेणी सम्मको मनोरम दृश्य हेर्न सकिन्छ ।
वर्दघाट नगरसरकारका उपप्रमुख रुद्रप्रकाश उपाध्याय देखि वर्दघाट खानेपानी तथा उपभोक्ता सरसफाई संस्था, वर्दघाट उद्योग वाणिज्य संघ, वर्दघाट उद्योग व्यापार संघ, वर्दघाट वजार विकाश समिति, विभिन्न आमा समूहहरु ल्गायत सामाजिक संघसस्था र समूहसम्मको टोलिले उक्त वर्दघाट हिलपार्कमा गएर श्रमदान गरेको छ ।
दुईवटा पोखरी खन्ने, चौपारी निर्माण गर्ने देखि थुप्रै बोटबिरुवा लगाई सकिएको उक्त क्षेत्रमा हालसम्म दैनिक श्रमदान गर्नेहरु थपिदै गएको अभियान्ता दिलिप खत्रीले बताउनुभयो ।
आन्तरिक तथा वाह्य पर्यटकिय स्थलको रुपमा विकाश र विस्तार गर्ने योजना सहित निर्माणकार्य सुरु गरिएको उक्त पार्कको नामाकारण गर्न भने अझै बाकि छ । यद्यपि त्यसक्षेत्रका बासिन्दा र श्रमदानमा जुटेका स्थानीयले वर्दघाट हिलपार्क भनेर नाम दिएका छन् ।
सरकार, दातृसंस्था र चन्ता संकलनभन्दा भाविपुस्तालाई जनश्रमदानबाट नै दिर्घकालिन रुपमा आर्थिक र सामाजिक विकाश संभव छ भन्ने संस्कारको विकाश गर्न यो अभियान थालिएको हो ।