ताजा अपडेटः

सुनवलका १५५ जना अव्यवस्थित बसोबासीले जग्गाधनि पूर्जा प्राप्त

कल्पना खरेल
सुनवलका १५५ जना अव्यवस्थित बसोबासीले जग्गाधनि पूर्जा प्राप्त प्रकाशित मिति: २० असार २०८२, शुक्रबार १६:१५

नवलपरासी पश्चिम, असार २० गते । नवलपरासी पश्चिम स्थित सुनवल ५ बनकट्टिका १५५ जना अव्यवस्थित बसोबासीले आज शुक्रबार जग्गाधनि प्रमाण पूर्जा पाएका छन् ।
वि.स.२०४४ सालदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीले करिब ३८ वर्षपछि जग्गाधनि प्रमाण पूर्जा पाएका हुन् । नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक कार्यक्रमका विच जग्गाधनि प्रमाण पूर्जा वितरण गर्नुुभएको हो ।
लालपूर्जा हातमा लिदै ६८ बर्षिय वेलामाया सुनारले लामो समयपछि आफु बल्ल जग्गाको मालिक भएकोमा खुसी व्यक्त गर्नुभयो । सुनार भन्नुहुन्छ “ कैयौं अप्ठारो परिस्थितीमा जग्गा बैंकमा राखेर कर्जा माग गर्न गयो , लालपूर्जा छैन मिल्दैन भन्दै फर्काउन्थे, जे होस् जीवनको उत्तरार्धमा भएपनि लालपूर्जा सिरानीमा राखेर निदाउन पाउदा गर्व लागेको छ । ”
उहाँ मात्र होइन ७० बर्षिय बखत बहादुर गुरुङ पनि लालपूर्जा पाउदा बल्ल सपना पुरा भएको महसुस गर्नुभएको छ । बखत बहादुर भन्नुहुन्छ “दिनरात जोतभोग गरेको जग्गा आफ्‌नो भन्ने कुनै अधिकार थिएन, साह्रै पिडा लाग्थ्यो , अब ढुक्क छु । आवश्यक पर्दा जग्गा धितो राखेर व्यवहार चलाउन पाउने भए । ”
सुनवल नगरपालिकामा जम्मा फारम भरेको ६ हजार १ सय ५७ जनामा २१२ जना भूमिहिन दलित, ४३७ जना भूमिहीन सुकुम्बासी र ५५०८ जना अव्यवस्थित बसोवासी रहेको सुनवल भूमिसाखा प्रमुख गणेश न्यौपानेले बताउनुभयो ।
जसमध्ये नापनक्सा सम्पन्न भएको जग्गा ५२२ विगाहा १६ कट्ठा २ धुर ,नापनक्सा गरेर सकिएको कित्ता संख्या १५२० वटा रहेका छन् । नापीटोलीबाट ७ दिने हकदावी सुचना प्रकाशन गरिएको ३०३ कित्ता, नगरपालिकाबाट सिफारिस भएका २५७ वटा कित्ता र राजश्व सुचना गरिएको २५७ वटा रहेका छन् ।
सोहि क्रममा बोल्दै नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवलपरासी जिल्लामा मात्र भूमिसगँ सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्न २० जना कर्मचारी पठाइएको बताउनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि भूमि सम्बन्धि समस्याहरु समाधान गर्नुपर्छ भन्ने मुल्य र मान्यताका साथ बाझिएका र अप्ठारा कानुनलाई सम्सोधन गरिएको समेत बताउनुभयो ।
यसैगरी सुनवल नगरप्रमुख विमला अर्यालले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित समस्या समाधान गर्न स्थानिय सरकार लागि परेको भन्दै छिटोछरितो भूमि समस्या समाधान गर्न २ टोली बनाएर फिल्डमा खटाइएको बताउनुभयो ।
नगरप्रमुख अर्यालले जग्गा वर्गिकरणको काम अन्तिम चरणमा रहेको र पुनः नापनक्साको काम पनि सुरु गरिएकोले छिट्टै भूमि सम्बन्धि हरेक समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
उता राष्ट्रिय भूमि आयोगका अध्यक्ष हरी प्रसाद रिजालले विगतका आयोगहरु भन्दा यो आयोग अधिकारप्राप्त आयोग रहेको भन्दै तिन बर्षभित्र देशैभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित समस्या समाधान हुने बताउनुभयो ।
भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न जग्गाधनि दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरिता भूषाल, पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेल, पूर्व लुम्बिनी प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारी, जिल्ला समन्वय समिती प्रमुख भगउती यादव, भूमि समस्या समाधान आयोगका सदस्य थानप्रसाद गैरे लगाएतले मन्त्व्य व्यक्त गर्नुभएको थियो ।




Ads