फागुन २३, नवलपरासी । भूमि समस्या समाधान आयोग जिल्ला समिति पश्चिम नवलपरासीले जिल्लाका ६ पालिकामा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेकाे छ ।
यहीँ फागुन १ गते शपथग्रहण गरेपश्चात विभिन्न चरणमा सुनवल नगरपालिका , बर्दघाट नगरपालिका , सुस्ता गाउँपालिका, सरावल गाउँपालिका, पाल्हिनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिका गरि ६ पालिकामा सुझाव संकलन गरेकाे हाे ।
आयोगले छलफलका क्रममा भूमिहीनहरूको पहिचान देखि प्रमाणीकरण गर्ने कार्य स्थानीय सरकारकाे भएकाले वास्तविक भूमिहीनहरूकाे एकिन तथ्यांक दिन आग्रह गरेकाे छ ।
भने जनप्रतिनिधि र राजनीतिक दलहरूले आयाेगले लामाे समयदेखि जकडिएकाे भूमि समस्या समयमै समाधान गरि भूमिहीनहरूका हात हातमा लालपुर्जा वितरण गर्न अनुरोध गरेका छन् ।
साेहि क्रममा भूमि आयाेगका अध्यक्ष लाल बहादुर गुरुङले विभेद रहित वास्तविक भुमीहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको पहिचान गरि आफ्नै आयाेगले लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यसका लागि अपुग कर्मचारी र बजेटकाे व्यवस्थापन गर्न समेत आयाेगले स्थानीय सरकारसगँ माग गरेकाे छ ।
लाल बहादुर गुरुङ अध्यक्ष रहनुभएकाे भूमि समस्या समाधान आयाेगमा सदस्यहरुमा थानप्रसाद गैरे, सोमबहादुर रायमाझी तथा विज्ञ सदस्य राधा ढकाल हुनुहुन्छ ।