ताजा अपडेटः

त्यही सहरले दुखाएको मन

त्यही सहरले दुखाएको मन प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार १८:२७

प्रिय बाबाआमा,
जब म गाउँमा थिए शहर जाउजाउँ लाग्थ्यो।सायद मेरो मात्र होइन हरेकको इच्छा हुन्छ गाउँमा हुँदा शहर जाने।१० कक्षापछि धेरै बाहिर नै जानुपर्ने पढ्ने।हजुरहरुलाई पनि याद छ होला मैले SEE पास गरिसकेपछि म पनि पढ्न शहर जान्छु भनेर नाइनास्ती गरेको कुरा।गाउँ मन नपरेर,गाउँको माया नलागेर होइन +२ मा राम्रो विषयको गाउँमा अध्ययन नहुने कारणले गर्दा हो शहर मै झर्नुपर्ने।तर शहरमा राखेर पढाउन नसकिने कुरा गरेपछि म पनि गाउँमै पढ्न राजी भए त्यो पनि आफुले नचाहेको विषय लिएर आफ्नो रहरलाई रोकेर। गाउँमा पढ्दै गर्दा धेरै कुराहरु सिके।आफ्नो ठाउँको समस्या,आफ्नो ठाउँको मान्छेको व्यवहार,मेरो गाउँको विकासको गति जस्ता विविध सामाजिक गतिविधिसँग जोडिन पाए खुशी नै लागेको थियो आफ्ना साथी संगी अनि आफ्नै परिवारसँग बसेर पढ्न पाउँदा।आफ्नो रहर जे भएपनि अब जुन बाटोमा लागियो त्यतैबाट राम्रो गर्नुपर्छ भन्ने सोचेकी थिएँ। दिनभरी मेला गरिरहँदा घरीघरी म पनि सहरमा भएको भए कति अवसर हुन्थ्यो होला,म पनि केही गर्थे होला अहिले घरको काममा नै अल्झिनुपरेको छ भन्ने सोच्थेँ। फेरि खुशी पनि लाग्थ्यो की बाबाआमा लाई सहयोग त भएको छ अनि मैले पनि धेरै काम सिकिरहेकी छु भनेर। गाउँमा सँगै पढेका साथी जो सहरमा थिए उनीहरूको जीवनशैली देख्दा मनमा कताकता खिन्नता आउँथ्यो।

+२ पनि सकियो स्नातक पढ्ने बेला भयो।स्नातक त गाउँमा छैन जसरीपनि सहर नै झर्नुपर्यो।त्यसपछि म पनि बुटवल सहर झरे केही बन्ने आशमा र अहिले पनि त्यही सहरमा छु।
शहर त झरे तर जस्तो सोचेकी थिए त्यस्तो नहुने रहेछ। शहर भनेको शहर रहेछ।गाउँमा हुँदा सहर झर्ने मेरो त्यो रहर बेकारको रहेछ।गाउँमा भएको खुशी यहाँ छैन।यहाँको बसाईको वर्णन गर्ने हो भने जो पनि अतालिन्छ तर बास्तविकता यस्तै छ।
सहरको महंगो कोठामा भाडा तिरेर बसिरहेकी छु।प्रत्येक महिना भाडा बुझाउँदा मुटु नै चिरिएर आउँछ। भोक साह्रै लाग्छ। तर हजुरहरुलाई थाहा छ बाटोमा म हिँड्दै गर्दा लागेको भोक मेटाउन आफूसँग अलिअलि भएको दुई चार सय रुपियाँ पनि खर्च गर्न सक्दिन किनकि मलाई लाग्छ ४०-५० रुपियाँ मात्रै भएपनि बचाए भने एक छाक तरकारी त आउँछ।म बुटवल शहर बसेपनि कुनै महंगो होटल रेष्टुरेन्ट मा छिरेकी छैन र मलाई त्यति थाहा पनि छैन ती होटलहरुमा पाइने परिकारको बारेमा।मिठो मिठो खाना त मलाई पनि मन लाग्छ नि तर मेरो मनले मलाई टाढै बस भन्छ।आफूसँग कोठामा जे छ त्यही खान्छु।हजुरहरुले पठाइदिएको मकै भुटेर,चिउरा,पिठोको रोटी बनाएर खान्छु।सानैबाट धेरै बिरामी हुने गरेकी त्यसैले बाहिरको खाएर ठीक पनि हुँदैन भन्ने लाग्छ।आफ्नो शरीरलाई पनि ठीक बाहिरको भन्दा यस्तै खाएको ठीक भनेर चित्त बुझाउँछु।सधैं बाहिर खाजा खान पैसा पनि नहुने।कहिलेकाहीँ पानी मात्रै खाएर पनि आफ्नो भोक टार्ने गरेकी छु।खाजा नखाने बानी गरेर होला आजभोली दिउँसोमा भोक लाग्न पनि छाडेको छ।खाली पेट राख्न नहुने ग्यास्ट्रिकको रोगी,शरीर कमजोर भएर भिटामिन खुवाएर बचाउनुभयो तर यहाँ त एक छाक खाना पनि मुश्किल छ।

प्रत्येक महिना भाडा तिरेर बस्नु हामी जस्तो परिवारको लागि साह्रै गाह्रो हुने रहेछ।अझ त्यसैमाथि कलेजको महंगो शुल्क तिरेर पढ्नु त झन् दर्दनाक नै हुने रहेछ।बसेर मात्र भएन खान लाउन पर्यो।जे चीज पनि साह्रै महंगो।
यहाँ त गाउँको पहिरन लगाए पाखे भन्दो रहेछन् बाबाआमा!पोसाक पनि उहीस्तरको चाहियो।मलाई त सामान्य पोसाक मन पर्ने अझैपनि यहाँको परिस्थितिसँग मेलमिलाप गर्न सकेकी छैन।मलाई थाहा पहिरन मात्र सबथोक होइन।महंगो लुगा लगाए भने सबैभन्दा महान् हुने पनि होइन।आफ्नो क्षमताले भ्याएसम्म लागाउने हो।तरपनि यो सहरले नबुझ्दो रहेछ बाबाआमा।सकेसम्म आजसम्म आफूमा नियन्त्रण गरिरहेकै छु मैले।बजारमा तरकारी लिन जाँदा सबैभन्दा सस्तो तरकारी किनेर फर्किन्छु।
यी सहरमा आएको पनि धेरै भइसक्यो तर म नयाँ नयाँ ठाउँमा घुम्न हिँडेकी छैन।संयोगले नजिकमात्र गएकी छु।म एक दिन घुम्न जाने खर्चले मलाई ४,५ दिनलाई खान पुग्छ।एउटा लुगा किन्नलाई १२,१५ पटक सोच्नुपर्छ।मलाई पुस्तक पढ्न साह्रै मन पर्ने तर म किन्न सक्दिन।

बिरामी हुँदा त मलाई रुनै मन लाग्छ।यसो रुघाखोकी लाग्ने बित्तिकै,टाउको दुख्ने बित्तिकै के भयो के गर्ने होला के खान्छेउ भनेर चिन्ता लिगीहाल्ने हजुरहरुको याद आउँछ।यहाँ त जसलाई भयो भयो गर या मर भन्ने स्थिति सिर्जना हुन्छ। चिसो लाग्ने बित्तिकै गाउँमा छदा नुहाउनको लागि भनेर हजुरहरुले तयार गरिदिने तातो पानीलाई झल्झली सम्झन्छु।थाहा छ हजुरहरुलाई म कति धेरै बिरामी हुने गर्छु।चिसोले कति छिटो भेट्छ मलाई तर यहाँ त के तातो के चिसो।

मेरा धेरै साथीहरु छैनन् किन थाहा छ किनकि म सँग पैसा छैन।साथी बनाउन पनि पैसा चाहिने रहेछ।जब उनीहरूको तुलनामा आफू सानो भइन्छ तब तर्केर नै बस्नु पर्दा रहेछ।साथी पनि पैसा कै हुने कस्तो शहर रहेछ कुन्नि?
केही गरौं भनेर त सोच्छु तर यी शहर त शहर नै रहेछ नि!केही गर्नको लागि पनि पैसा र पावर चाहिने।हामीसँग त दुवै छैन।अनि हाम्रो खानदानमा पनि त्यस्तो कोही भएन।हुन त आफ्नो लागि हामी आफैले गर्ने हो तर यहाँ चिनेको भयो भने उसले बोलिदियो भने असम्भव जस्तो पनि सम्भव हुने।
जागिर गर्ने सोच्छु तर पढाई बिग्रने डर लाग्छ।मेरा जागिरे साथीहरु कलेज छाडेका छन्।न जागिर राम्रो सँग गर्न सकिने न पढाइ राम्रो हुने। आजसम्म राम्रै गरेको गुरुहरूको अगाडि राम्रै चिनिएको पढाइ बिग्रियो भने त साह्रै नराम्रो हुन्छ कि भन्ने लाग्छ।फेरि गाउँमा बाबाआमा ले यति खर्च गरेर पढाएका थिए छोरी बिग्रिछ भनेर कुरा पनि काट्ने होलान्। अनि केही नगरी बसौ भने नि अब त केही गर्नुपर्ने हो अझै पनि बाबाआमा कै कमाई खाइरहिछ भन्ने होलान्।केही गर्न पनि तनाव नगरे पनि तनाव हुँदो रहेछ।

पढाइको शिलशिलामा भएको खर्च हिसाब गर्दा मन आतिन्छ।पढाइमा खर्च भएको जति पैसा अन्य उत्पादन वा व्यवसायमा लगानी गरेको भए केही भइसक्थ्यो केही बनिसक्थे जस्तो लाग्छ।कति धेरै खर्च गर्नुपर्दा कहिलेकाहिँ त पढाइ नै छाडीदिऊँ जस्तो लाग्छ।

समिक्षा पराजुली, बिहादी पर्वत।



Ads