ताजा अपडेटः

नवलपरासी पश्चिममा रासायनिक मलको अभाव

कल्पना खरेल
नवलपरासी पश्चिममा रासायनिक मलको अभाव प्रकाशित मिति: २७ जेष्ठ २०८२, सोमबार १५:३७

नवलपरासी पश्चिम, जेष्ठ २६ गते । असार सुरु हुनै लाग्दा पनि मलको अभावका कारण नवलपरासी पश्चिमका किसानहरु यतिबेला चिन्तित बनेका छन् । प्रत्येक वर्ष मलको अभाव झेलेका किसानहरु रोपाईको समय सुरु भइसक्दा पनि मलको सहजता नहुदा सोहिँ समस्या दोहोरिने डरमा चिन्तित बनेका हुन् ।
जिल्लामा आएको रासायनिक मलले जिल्लाको खेतीयोग्य जमिनको दुई तिहाई पनि नपुग्ने कृषि कम्पनी लिमिटेड परासी शाखाका प्रमुख ताराप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार “जेठ १८ गतेदेखि मल वितरण शुरु गरेका छौ, डिएपी मल १८ हजार मेट्रिक टन आवश्यक पर्नेमा ३५८ मेट्रिक टन, यूनिया मल १२ हजार मेट्रिक टन आवश्यक पर्नेमा ४२९ दशमलव ७ सय मेट्रिक टन मात्र आएको छ । पोटास भने कृषकको माग अनुसार प्रयाप्त रहेको छ । ”
अनुदानमा आएको रासायनिक मलमध्ये युरिया प्रति बोरा ( ५० केजी ) ७९४, डिएपी २ हजार २४४ र पोटास १ हजार ६४४ रुपियाँँमा सहकारी मार्फत विक्रि गरिएको छ । सहकारीहरुले त्यसमा ढुवानी रकम थप गरेर स्थानीय तहले निर्धारण गरेको विक्रि दरमा बिक्रि गर्ने गरेको प्रमुख खनालले बताउनुभयो ।
सुनवल ९ कासीपुरका कृषक दिपक चौधरी भन्नुहुन्छ “श्री भैरव बचत तथा ऋण सहकारी संस्था लि.बाट दिनभरी लाइनमा बसेर १ बोरो डिएपी मल मात्र पाएको छु, ७ विघामा जंगा छ, कसरी मल पु–याउने हो । ”
सोहि सहकारीका व्यवस्थापक हिरालाल यादवले सहकारीमा जम्मा ४५ बोरा डिएपी मल र ६० बोरा यूरिया मल आएको बताउनुभयो । उहाँका अनुसार “किसानलाई यतिबेला मलको अभाव छ ,१ विघा भन्दा बढि जमिनमा धानखेती गर्ने १ हजार दुई सय कृषक सेयर सदस्य हुनुहुन्छ , कृषक कार्डका आधारमा जो पहिला लाइनमा उभिनुहुन्छ उहाँलाई मल दिएका छौ ।”
पाल्हिनन्दन २ का कृषक हितेन्द्र यादवले धानखेती मुख्य आयआर्जनको स्रोत भएपनि आफुले कहिल्यैपनि अनुदानको मल नपाएको बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रका अधिकाशं कृषकहरु अनुदानको मल नभई भारतको बोडर ठुटिबारी गएर साइकलमा रासायनिक मल ल्याएर धानखेती गर्ने गरेका छन् ।
विभिन्न समयमा सरकारमार्फत पठाइने अनुदानको मल स्थानीय तहले उपलब्ध गराएको विवरणका आधारमा सहकारी मार्फत वितरण गरिन्छ । जिल्लामा कुल ४१ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा २१ हजार हेक्टर धान खेतीहुँदै आएको छ । सात स्थानीय तह रहेको जिल्लामा ८० सहकारी मार्फत किसानहरुलाई मल उपलब्ध गराइँदै आइएको छ ।




Ads