फागुन २३, नवलपरासी । पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका-३ सेखवानी गाउँमा शुक्रबार दिउँसो भएकाे आगलागीमा २३ लाख बढीकाे क्षति भएकाे छ । आगलागिमा परि तीन जना जलेर घाइते भएका छन् ।
स्थानीय इन्द्रिस अलिका पाँच दाजुभाई बस्दै आएकाे टिन र टाटीले बारेकाे घरमा अकस्मात विद्युत सर्ट हुँदा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शिवकुमार खत्रीले बताउनुभयाे ।
४० मिटर लामाे एउटै घरलाई बारेर पाँच दाजुभाईकाे परिवार बस्दै आएकाे थियाे । घरमा आगाे लागेपछि सामान निकाल्न जानेक्रममा परि ४० वर्षीया सतारूल निसा, ३५ वर्षिय निजामुद्दिन मिया र २३ वर्षिय तैमरूद्दिन मिया जलेर घाइते भएका हुन् ।
घाइतेमध्ये सतारूलकाे अनुहार, टाउको र दुवै हात, निजामुद्दिनकाे दुवै हात र खुट्टाका पञ्जा तथा तैमरूद्दिनकाे हात जलेकाे प्रहरीले जनाएकाे छ । उनीहरूकाे सामुदायिक अस्पताल चाैपातामा उपचार भइरहेकाे खत्रीले जानकारी दिए ।
आगलागीबाट खाद्यान्न, फर्निचर, सुनका गरगहना, कुखुरा, माेबाईल जिन्सी सामान पूर्णरूपमा जलेर नष्ट भई २७ लाख २९ हजार बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ । दमकल, प्रहरी र स्थानीयकाे सहयाेगमा आगाे नियन्त्रणमा लिइएकाे छ ।