ताजा अपडेटः

नवलपरासीको हकुईका व्यवसायिक फर्महरू विक्रि मूल्यसूची बिनै काराेबार

कल्पना खरेल
नवलपरासीको हकुईका व्यवसायिक फर्महरू विक्रि मूल्यसूची बिनै काराेबार प्रकाशित मिति: June 13th, 2024

परासी, ३१ जेठ । पश्चिम नवलपरासीको हकुईमा सञ्चालित व्यवसायिक फर्महरुमा विक्री मूल्यसूची बिनै कारोबार गरेको पाईएको छ । संयुक्त जिल्ला बजार अनुगमन समितिले आज बिहीबार  रामग्राम १६ हुकईमा गरेको अनुगमनको क्रममा त्यहाँ सञ्चालित पसल तथा होटलहरुमा मूल्यसूची नभेटिएको हो ।
अधिकांश पसलहरुले व्यवसाय दर्ता गरेपनि लामो समयसम्म नवीकरण नगरेको, कतिपय पसल दर्ता बिनै सञ्चालनमा रहेको, दर्ता प्रमाणपत्र तथा मूल्यसूची देखिने गरि नराखेको लगायतका समस्या देखिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
मूल्यसूची नभएका पसलहरुलाई तत्काल मूल्यसूची राख्न लगाईएको छ भने नवीकरण नभएका तथा दर्ता नभएका पसलहरुलाई एक हप्ता भित्र सम्बन्धित निकायमा दर्ता नवीकरण गर्न निर्देश नगरिएको उहाँले बताउनुभयो ।
हाटेलका भान्साहरुमा सरसफाइको कमी भेटिएको थियो भने खाद्यन्न पसलहरुमा लेवल नभएका तथा म्याद नाघेका अखाद्य वस्तु तथा पेय पदार्थहरु जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मीले बताउनुभयो ।
हकुई क्षेत्रका विभिन्न व्यापारिक फर्म तथा उद्योग गरि पन्ध्र वटा व्यवसायिक प्रतिष्ठानहरुको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारको सहभागिता रहेको थियो ।




Ads