ताजा अपडेटः

एमाले नवलपरासीको जिल्ला अधिबेशन यहीँ वैशाख २१ र २२ गते हुने

एमाले नवलपरासीको जिल्ला अधिबेशन यहीँ वैशाख २१ र २२ गते हुने प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलवार २१:२९

मोहन पौडेल
परासी, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशन यही वैशाख २१ र २२ गते हुने भएको छ । जिल्लाको सुनवलमा आयोजना हुने अधिवेशनको पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताईएको छ ।
नेकपा एमाले नवलपरासीले आज परासीमा पत्रकार सम्मेलन गरि जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भईरहेको जानकारी गराएको हो । आजै जिल्ला अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको छ । अधिवेशनमा जिल्लाभरबाट करिब ४२१ जना प्रतिनिधि सहभागि हुने पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले जानकारी दिनुभयो । जिल्ला अधिवेशनका लागि सबै पालिकाका वडाबाट प्रतिनिधि छनौट हुने एमालेले जनाएको छ ।
यही वैशाख १७ गते जिल्लाभर एकैदिन प्रतिनिधि छनौट गर्ने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । जिल्लामा एमालेका करिब चार हजार सात सय जना संगठित सदस्य रहेका छन् । अधिवेशनले एक सय ५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ भने विधान अनुसार थप दश प्रतिशत पछि मनोनीत गर्ने व्यवस्था रहेको अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो ।
जिल्ला अधिवेशनको उद्घाटन गर्न पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नै आउने तय भएकोले व्यवस्थित र भव्य बनाउने गरि तयारीका कामहरु भईरहेको सो पार्टीका जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले जानकारी दिनुभयो । ओली वैशाख २० गते नै नवलपरासी आउने बताईएको छ । उक्त दिन सुस्ता, त्रिवेणी गजेन्द्रमोक्षधाम, बाल्मिकीआश्रम लगायतका स्थानको ओलीले भ्रमण गर्ने बताईएको छ ।
अधिवेशन सम्पन्न गर्न विभिन्न १३ वटा उपसमिति गठन गरि तयारी अघि बढाईएको एमाले जिल्ला सचिव धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अध्यक्ष अधिकारीको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, सचिव बस्यालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, उपसचिव राजन कुमार आचार्यको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपाध्यक्ष डोलराज भण्डारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति,जिल्ला सचिवलाय सदस्य रामचन्द्र भण्डारीको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति बनाईएको छ ।
यसैगरी थमनसिंह नेपालीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सुबोध जागृत बुढाथोकीको संयोजकत्वमा जनसांस्कृतिक व्यवस्थापन उपसमिति, दीपेन्द्र अधिकारीको संयोजकत्वमा अतिथि सत्कार  व्यवस्थापन उपसमिति,तारा सिंह थापाको संयोजकत्वमा मसलन्द तथा छपाई व्यवस्थापन उपसमिति,डोलराज भण्डारीको संयोजकत्वमा जनपरिचालन उपसमिति, प्रदीप सुवेदीको संयोजकत्वमा स्वयमसेवक व्यवस्थापन उपसमिति,जगदीश चौधरीको संयोजकत्वमा स्वास्थ्य स्वयमसेवक व्यवस्थापन उपसमिति र केशव भण्डारीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको एमालेले जनाएको छ।एमालेले प्रदेश कमिटीका सदस्यहरुलाई अनुगमनको जिम्मेवारी दिएको छ ।