ताजा अपडेटः

सुनवल २ स्थित कुमाल बस्तीमा ६ लाखकाे कृषि सामाग्री वितरण

सुनवल २ स्थित कुमाल बस्तीमा ६ लाखकाे कृषि सामाग्री वितरण प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार २२:३०


कल्पना खरेल,नवलपरासी । कृषि ज्ञानकेन्द्र नवलपरासीकाे “लक्षित समुदाय विशेष आय आर्जन कार्यक्रम” अन्तर्गत आज मगंलबार ३० जना लाई कृषि सामाग्री वितरण गरिएकाे छ ।
आ.वर्ष २०८०/०८१ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि  तथा भुमि व्यवस्था मन्त्रालय प्रदेश सरकारद्वारा कार्यविधि ताेकिए बमाेजिम सुनवल नगरपालिका वडा नम्बर २, मुखियाटाेल स्थित कुमाल बस्तीकाे ३० घरलाई उक्त कृषि सामाग्री वितरण  गरिएकाे हाे ।
तराईमा बसाेबास गर्ने पिछडिएकाे वर्गहरू ( मुसहर, चमार, हरिजन, कुमाल ) लगाएतलाई  ताेकिए बमाेजिम स्थानीय तहबाट सिफारिस भइ आएकाे नामावलीलाई फिल्डमै  प्राविधिक टाेली खटाइ उपयुक्तकाे आधारमा वितरण गरिएकाे कृषि ज्ञान केन्द्र परासीका प्रमुख डा.रवीन्द्रनाथ चाैवेले बताउनुभएकाे छ ।
उहाँका अनुसार १ घरधुरीलाई  २० हजार बराबरकाे सामाग्रीमा माेटर,स्प्रे ट्याङ्की , गार्डेन पाइप, किटनाशक विषादी, टनिक, सरकारी सिड कीट ( विभिन्न जातका तरकारीका बीउ ) र बीउ उमार्ने ट्रे गरि  ६ लाख बराबरकाे सामाग्री  हस्तान्तरण गरिएकाे हाे ।
साेहि क्रममा बाेल्दै वडा अध्यक्ष राजेन्द्र यादवले याे कार्यक्रम विशेषगरी लक्षित समुदायको आयआर्जनमा वृद्धि गर्ने उदेश्य सहित कृषि सामाग्री हस्तान्तरण गरिएकाे जानकारी दिनुभयाे ।
यादबले एकै ठाउँमा बसाेबास गर्ने लक्षित समुदायलाई भनी कृषि ज्ञान केन्द्रले  माग गरे अनुसार वडाले  कुमाल बस्तीबाट डाटा संकलन गरी  वडा र नगरबाट सिफारिस लिएर माग फारम पेस गरिएकाे समेत जानकारी दिनुभयाे ।
उहाँले थाेरै-थाेरै जग्गा भएकाे र प्राय कृषिमै निर्भर भएका कुमाल समुदायलाई हस्तान्तरण भएका सामाग्रीकाे प्रयाेगबाट उत्पादनमा वृद्धि गर्न सकिने भएकाले घरायसी खर्चका लागि आयआर्जनकाे राम्रो माध्यम बन्न सक्नेमा आफू ढुक्क रहेकाे बताउनुभयाे ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका कर्मचारी , कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीयबासी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।



Ads