ताजा अपडेटः

बर्दघाटमा फाल्गुन १७ देखि सातौ औद्योगिक व्यापार मेला सञ्चालन हुने

बर्दघाटमा फाल्गुन १७ देखि सातौ औद्योगिक व्यापार मेला सञ्चालन हुने प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार ११:००

अस्मिता भुसाल,
बर्दघाट फाल्गुन ७ । पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १७ गते  देखि सातौ  बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०८० सञ्चालन हुने भएको छ ।
बर्दघाटको हरियाली नगर (बर्दघाट मण्डप) मा २९ गतेसम्म मेला सञ्चालन गर्ने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले मेलाको तयारी तीव्र पारिएको बताउदै कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न, यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल र जैविक विविधताको संरक्षण गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको बताउनुभयो  ।
यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास गर्न एकै थलोबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारसम्म औद्योगिक लघु उद्यम तथा कृषि र अन्य उत्पादनहरुको बजार विस्तार गर्न उपभोक्तालाई मुलुक भित्रै किनमेल गर्ने बानिको विकास गराउन मेलाले टेवा पुर्याउने उहाको भनाई थियो  ।
उपभोक्ताबीच स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरुको चाहना जानकारी उत्पादन तथा सेवा प्रति विस्वास अभिवृद्धि गर्ने, राष्ट्रिय स्तरमा उत्पादनको बजार प्रवद्र्धन गर्ने, देशभरिका व्यवसायीहरुबीच आपसी समन्वयको भावना जागृत्त गराउने, व्यवसायीहरुबीचको अवसर, समस्या र चुनौतिबारे अन्तृक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि, लघु तथा घरेलु उद्यमहरुको बजार प्रवद्र्धन गर्ने, यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने मेलाको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो ।
करिब ४ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको उक्त व्यापार मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकला उत्पादन, अटोमोबाईल्स, ईलेक्टोनिक्स, तथा ईलेक्ट्रिकल्स, मोवाईल सूचना प्रविधि, फर्निचर, तथा फर्निसिंगको सामग्री, निर्माण सामग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेण्ट, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकार सहित स्थानिय भाषा , धर्म , कला साहित्य र भेषभुषाको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।
करिब दुई सय पचास  स्टल रहने उक्त मेलामा करिब १ लाख  ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा स्टल राख्न बर्दघाट उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अपांगता भएका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।विद्यार्थीलाई टिकटमा सहुलियत दिईनेछ भने कृषि र महिला उद्यमी लाई स्टल निःशुल्क प्रदान गरिने बर्दघाट उद्योग वाणिज्य संघका महासचिव गँगा प्रसाद पाठकले बताउनु भयो ।
मेला सञ्चालनका लागी अनुमानित ७५ लाख सम्म खर्च हुने अनुमान गरिएको मेला मा सुरक्षाको लागी ३ तहको सुरक्षा  सहित सिसि क्यामेरा को पनि  व्यवस्था रहने संघका बरिस्ठ उपाध्यक्ष तारा प्रसाद गौतमले  पत्रकार सम्मेलन मार्फत् जानकारी दिनु भयको छ।



Ads