ताजा अपडेटः

अर्थतन्त्रमा कुनै सुधार नआएको ’सर्भे’ को निष्कर्ष, उत्पादन र मागमा व्यापक कमी

कल्पना खरेल
अर्थतन्त्रमा कुनै सुधार नआएको ’सर्भे’ को निष्कर्ष, उत्पादन र मागमा व्यापक कमी प्रकाशित मिति: १६ पुष २०८०, सोमबार १७:३६

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आएको धेरै पटक दाबी गरे पनि एक सर्वेक्षणले अर्थतन्त्रमा कत्ति पनि सुधार नआएको देखाएको छ ।
नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले गरेको एक सर्वेक्षणले समग्र बजार माग र उत्पादन नै खस्किएकाले अर्थतन्त्र मन्दीमा गइरहेको देखाएको हो । सर्भेका अनुसार उद्योगहरूको समग्र मागमा यो वर्षको पहिलो तीन महिनामा झन्डै ३६ प्रतिशतले कमी आएको छ । यस्तै उपभोग लगातार घटेपछि ५४ प्रतिशत उद्योगी व्यावसायीले व्यवसाय विस्तारको योजना त्यागेका छन् । यस्तै कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको, उद्योगको कच्चा पदार्थको आयातमा समेत निकै कमी आएको देखिन्छ ।
यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्षको तीन महिनामा २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको तीन महिनामा थप सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गएको वर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो जुन चालु वर्षसमेत यथावत् रहेको देखिएको छ ।
सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार आएको परिसङ्घको बुझाइ रहेको छ ।स्रोतःउज्यालो




Ads