ताजा अपडेटः

नेपाल र एसियाली विकास बैंकबीच १३ अर्ब ३३ करोड रुपैयाँको ऋण सम्झौता

नेपाल र एसियाली विकास बैंकबीच १३ अर्ब ३३ करोड रुपैयाँको ऋण सम्झौता प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार १३:४०

काठमाण्डौ – सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूणर् ऋण सम्झौता भएको छ ।
आज शुक्रवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
एडीबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताउनुभयो । ‘सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ’, उहाँले भन्नुभयो ।
नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूणर् ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ । यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थ मन्त्रालयले जनाएको छ । तीन वटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्‍याउने ठानिएको छ । त्यस्तै केन्द्र सरकारको सार्वजनिक ऋण व्यवस्थापनका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने जनाइएको छ ।स्रोतःउज्यालो