ताजा अपडेटः

रुपन्देहीमा अनुमति लिएर मात्रै भूकम्प पीडितका लागि राहत सङ्कलन र वितरण गर्न पाइने

रुपन्देहीमा अनुमति लिएर मात्रै भूकम्प पीडितका लागि राहत सङ्कलन र वितरण गर्न पाइने प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार १४:२०

रुपन्देही – रुपन्देही प्रशासनले आफूखुशी राहत सङ्कलन र वितरणमा रोक लगाएको छ ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका पीडितहरुलाई राहत सङ्कलन गर्ने भन्दै बैङ्क खाता सार्वजनिक गर्ने तर सङ्कलनको विवरण सार्वजनिक नगर्ने प्रवृत्ति बढेपछि राहत सङ्कलन र वितरणलाई पारदर्शी र एकद्धार बनाउने उद्देश्यले यो निणर्य गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
एकद्धार प्रणालीमार्फत प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्री वास्तविक पीडितको हातमा पर्ने र व्यवस्थापनमा पनि सहयोग पुग्ने रुपन्देही प्रशासनको भनाइ रहेको छ । प्रशासन र स्थानीय सरकारको अनुमतिमा मात्रै राहत सङ्कलन र वितरण हुने प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभएको छ । रुपन्देहीबाट जाजरकोट पुग्नका लागि ट्रक भाडा १ लाख रुपैयाँ पर्ने भएकाले १० लाख रुपैयाँ बराबरको राहत सङ्कलन भएपछि मात्रै त्यहाँको स्थानीय प्रशासनसँग समन्वय गरेर लैजान अनुमति दिने सर्वपक्षीय बैठकबाट निणर्य भएको प्रशासनले बताएको छ ।स्रोतःउज्यालो