ताजा अपडेटः

प्रहरीका नायब निरीक्षक जुवाखालबाटै पक्राउ

प्रहरीका नायब निरीक्षक जुवाखालबाटै पक्राउ प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार १८:२२

प्रदिप न्यौपाने, धनगढी

कञ्चनपुरमा जुवा खालबाटै पक्राउ परेका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ परेका हुन्।भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन्। थापा, पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाइकल र स्कुटी १ थानसहित उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेका थापालाई निलम्बन गर्ने तयारी भइरहेको बुझिएको छ। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो। दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी २०७७ माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन्।



Ads