ताजा अपडेटः

रामग्राम स्तूप भारतकाे हाे भनि प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुकाे आपत्ति

रामग्राम स्तूप भारतकाे हाे भनि प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुकाे आपत्ति प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार २१:३७

नवलपरासी । शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप भारतले नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । यस विषयमा तत्काल आवश्यक कदम चाल्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
भारतका अधिकारीहरु र भारतीय सञ्चारमाध्यमहरुले केही दिनदेखि रामग्रामको विषयमा भ्रमपूर्ण प्रचार गरिरहेकोले तत्काल खण्डन गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले जानकारी दिनुभयो । रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी गाउँमा अवस्थित छ । भारतले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा रामग्राम रहेको दाबी गरेको छ ।

नेपाल सरकारको प्राथमिकतामा नपर्दा नवलपरासीमा रहेको रामग्राम स्तूप ओझेलमा पर्दै आएको अवस्थामा भारतले आफ्नो भूमिमा रहेको दाबी गर्नु चिन्ताको विषय बनेको अध्यक्ष सैथवारले बताउनुभयो ।
“विश्व सम्पदा सूचिमा सूचीकृतको प्रक्रियामा रहेको प्राचीन रामग्राम स्तुपको विकास, संरक्षण र प्रचारप्रसारमा सरकारको ध्यान नपुग्दा स्तुप ओझेलमा छ , स्तुपको विकास हुने पर्खाईमा रहैकै बेला पछिल्लो केही समयदेखि मित्र राष्ट्र भारतले नक्कली रामग्राम स्तुप खडा गरि रामग्राम स्तुप भारतीय भूमिमा रहेको प्रचारप्रसार गरिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,भारत सरकारको यस किसिमको दुष्प्रचारप्रति हाम्रो घोर आपत्ति रहेको छ”, उहाँले भन्नुभयो ।

रामग्राम स्तु्प, विश्वकै एक मात्र यस्तो स्तुप जहाँ अहिलेसम्म भगवान बुद्धको अस्थिधातु अविछिन्न रुपमा राखिएको छ अर्थात बुद्धको परिनिर्वाण पछि राखिएको उहाँको अस्थिधातु अहिलेसम्म कसैले चलाउन सकेको छैन । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकको तीन किमि टाढा उजैनी गाउँबाट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने धाँसे थुम्कोे नै रामग्राम स्तुप हो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नागरिक समाजले भारत सरकारसँग पहल गरि गलत प्रचार रोक्न माग गरेको हो । समाजले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)लाई समेत ध्यानाकर्षण गराउँदै यस विषयमा सम्बन्धीत निकायसँग समन्वय गरि पहल कदम लिन आग्रह गरेको अध्यक्ष सैथवारले बताउनुभयो ।


जिल्ला समन्वय समिति प्रमुख यादवले लुम्बिनी विकास कोषका पदाधिकारी तथा भारत सरकारको उत्तर प्रदेश महाराजगन्जका अधिकारीहरुसँग आवश्यक समन्वय गर्ने बताउनुभयो । रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको जानकारहरु बताउँछन् । सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तुप हो भन्ने प्रमाणित भयो ।
यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९मा भूभौतिक सर्भेक्षण गरिएको थियो । यसबाट यस स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४को बिचामा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो ।
विश्वभरका बौद्धहरु यहाँ एकमात्र अस्थिधातु मौलिक रुपमा अस्थिधातु भएको पवित्र स्तुप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विदेशी तीर्थयात्रीहरु तथा काठमाडौंबाट तीर्थयात्रीहरु यहाँ आएर सामुहिक रुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् ।
स्तुपको रुपमा करिब १० फिट अग्लो तथा २३.५ मिटर ब्यास भएको घाँसले ढाकिएको एउटा ढिस्को मात्र देखिन्छ जसको छेउमा एउटा अजंगको रुख उम्रिएको छ । वरिपरी घुम्नलाई काठको फलेकको रयाम्प बनाइएको छ भने पूजा पाठ गर्ने एउटा ठाउँ पनि बनाइएको छ । यस बाहेक प्रवेश द्वारको दुबै तिर मेचहरु सहितको सानो बगैंचाहरु बनाइएको छ । दुई जना सुरक्षा गार्डले यस पुरातात्विक क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छन्।
लुम्बिनीमा जन्मनुभएको भगवान बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उहाँको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो ।
बौद्ध ग्रन्थहरुको अनुसार उहाँको महापरिनिर्वाण भएपछि उनको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्थिधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बिच ती अस्थिधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने माग सहित युद्ध नै गर्न तम्सिए । र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिए ।
त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्थिधातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्थिधातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो ।
पछि इशापूर्व २६८ देखि २३२सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तुपबाट अस्थिधातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए ।
बौद्ध ग्रन्थहरुमा उल्लेख भए अनुसार सम्राट अशोकका दुतहरुले यहाँ रामग्राममा अस्थि निकाल्न आउँदा यहाँका नागहरुले रक्षा गरेको कारण यहाँको अस्थि सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् ।



Ads