ताजा अपडेटः

इजरायलबाट थप एक विद्यार्थीको शव आज नेपाल आइपुग्यो

इजरायलबाट थप एक विद्यार्थीको शव आज नेपाल आइपुग्यो प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहीबार ११:५१

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।
नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँचजनाको शव नेपाल ल्याइएको छ । बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डीएनए संकलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उहाँले बताउनुभयो ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् । उनको खोजी भइरहेको छ । स्रोत ःनेपाली नेटवर्क



Ads