कल्पना खरेल
प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार ०७:२३ कल्पना खरेल,नवलपरासी । काग्रेंसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेललाई तत्काल पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्बाही गर्न नेपाली कांग्रेस कार्य समिति , पश्चिम नवलपरासीले , केन्द्रीय समिति सगँ माग गरेकाे छ । सनिवार नेपाली कांग्रेसले पार्टी कार्यालय परासीमा पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रेस विज्ञप्ति मार्फत यहि असाेज ५ गते शुक्रबार जारी केन्द्रीय समितिकाे बैठकमा पूर्व गृहमन्त्री समेत रहनुभएका कण्डेलले बाेलेका अभिव्यक्ति कपाेकल्पित र भ्रमपूर्ण रहेकाे भन्दै तत्काल कारबाहीको माग गरेकाे हाे ।

कण्डेलले नेपाली कांग्रेसका जिल्ला सभापति बिगत २ बर्षदेखि जिल्लाकाे कुनैपनि बैठकमा नआएकाे, कार्यबाहक सभापतिकाे भरमा पार्टी चलेकाे, कार्यबाहक सभापतिले कहिल्यैपनि पार्टीमा भाेट नहालेकाे, जिल्ला कार्यसमितिका सदस्यहरू सबेेै सभापति झै रहने गरेकाे, जिल्ला कार्यसमिति पूरै घण्टीकाे कब्जामा रहेकाे भन्ने जस्ता आपत्तिजनक, अनुशासन विपरीत एवम् पार्टीको विधानविपरीत अभिव्यक्ति दिदै आएकाे पार्टीका जिल्ला सभापति अर्जुनकुमार पाेख्रेल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

त्यतिमात्रै नभएर कण्डेललाई पार्टीका जिल्लापंक्तिले पटक-पटक सम्झाउने प्रयास गरेपनि स्थानीय चुनावमा मैले हराएकाे हाे,के गर्न सक्छाै ? पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा टिकट लिएर आउने मै हाे ? भन्ने धम्कीपूर्ण भाष्य प्रयोग गर्ने गरेकाे समेत प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै कण्डेलले वि.स. २०४८ र वि.स. र २०६४ सालकाे चुनावमा पार्टीका उमेदवारलाई हराएकाे स्मरण गराउदै सार्वजनिक रूपमै पार्टी विराेधी अवाञ्छित गतिविधि गर्नाले कांग्रेसको पकेट क्षेत्र भएकाे पश्चिम नवलपरासीकाे क्षेत्र नम्बर २ काे संघीय निर्वाचनमा समेत नराम्ररी हार व्यहोर्नु परेको पार्टीले आराेप लगाएकाे छ ।
