ताजा अपडेटः

नेम्वाङको पार्थिव शरीरकाे अन्त्येष्टि भोलि / सरकारद्वारा सार्वजनिक बिदा दिने निर्णय

नेम्वाङको पार्थिव शरीरकाे अन्त्येष्टि भोलि / सरकारद्वारा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार ०९:००

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य एवम्नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसोसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ । दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उहाँको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ । घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिनेछ ।

भोलि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ । संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारले शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

यस्तै, नेम्वाङको निधनको शोकमा आज तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न भोलि ३ बजेलाई अर्काे बैठक तोकिएको छ ।

पूर्व सभामुख नेम्वाङको हिजो राति हृदयघातका कारण निधन भएको थियो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख रहेका नेम्वाङकै कार्यकालमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।



Ads