ताजा अपडेटः

एसईईको सम्पूर्ण तयारी पूरा, पाँच लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

कल्पना खरेल
एसईईको सम्पूर्ण तयारी पूरा, पाँच लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै प्रकाशित मिति: April 21st, 2022

बैशाख ८, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ।

शुक्रबार (भोलि)देखि सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लाको परीक्षा केन्द्रमा पुगिसकेको र परीक्षाको सम्पूर्ण  तयारी पूरा भएको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनु भएको छ ।

बोर्डकाअनुसार यो वर्ष कुल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

देशभरका ११ हजार ६१५ र नेपालीले जापानमा सञ्चालन गरेको एभरेस्ट स्कुलबाट २० विद्यार्थी सहभागी हुँदैछन्। प्राविधिकतर्फ देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्नेछ। भौतिक उपस्थितिसहित परीक्षा हुनेछ।
यसअघि कोरोना जोखिमलाई मध्यनजर गर्दै आन्तरिक मूल्याकंनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो।




Ads