ताजा अपडेटः

दाङको देउखुरी क्षेत्रमा दर्जनौँ घर डुबानमा, हुलाकी सडक खण्डमा ठाउँठाउँमा पहिरो

दाङको देउखुरी क्षेत्रमा दर्जनौँ घर डुबानमा, हुलाकी सडक खण्डमा ठाउँठाउँमा पहिरो प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार १५:४२

दाङ – दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् ।
राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका-५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेका दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो । यस्तै लमही नगरपालिका-१ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार वटा घर डुबानमा परेका उहाँले बताउनुभयो ।
सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उहाँको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थान्तरण गरिएको छ । यस्तै कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उहाँको परिवार छतमा बसेको र उद्धार कार्य भइरहेको प्रहरीले बताएको छ ।
स्थानीय ४० वर्षीय सुशील कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसेपछि उनीहरूको परिवार सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवम् प्रहरी निरीक्षक (डीएसपी) शंकर श्रेष्ठले जानकारी दिनुभयो । डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि यहाँ १० जनाको प्रहरी टोली खटिएको छ ।

रातिदेखिको अविरल वर्षापछि ठाउँ-ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड बन्द भएको छ । बाढी आई ठाउँठाउँमा हिलो माटो खसेको हुँदा सडक खण्ड बन्द भएको हो ।



Ads