ताजा अपडेटः

नाम मात्रको सर्पदंश उपचार केन्द्र, नाम छ उपचार छैन

नाम मात्रको सर्पदंश उपचार केन्द्र, नाम छ उपचार छैन प्रकाशित मिति: २७ असार २०८०, बुधबार २१:०६

प्रकाश न्यौपाने/ नारायण भण्डारी

 

असार २७, नवलपरासी
सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो । चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्र तर्फ लगे ।

केन्द्र आउन करिव ५ सय मिटर बाँकी रहादा रहँदै फोन सम्पर्कबाट उपचार केन्द्रमा एन्टी स्न्याक भ्यानम नभएको जानकारी पाए । उत्तम र उनका आफन्त अत्तालिए, त्यत्तिकैमा एम्बुलेन्स चालकले एम्बुलेन्स फर्काएर बुटवल तर्फ कुँदाए ।

उनी मात्र होईन सुनवल ११ जर्गाहाकै ४१ बर्षिया रेनुका चापागाईलाई गत आईतबार सर्पले टोक्यो । चापागाईका छिमेकीले वडा अध्यक्ष कमल चुवाई लाई तत्काल खबर गरे । चुवाईले आफ्नै वडामा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्रमा फोन गरे । उनी जति आसावादी भएर फोन गरे तर केन्द्रबाट प्राप्त जवाफले उनलाई निकै निरास बनायो । केन्द्रले सर्पदंशको उपचार गर्न नसकिने बताएपछि चापागाईलाई तुरुन्दै परासी स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगेर उपचार गरिएको चुवाइ बताउँछन् ।

नवलपरासी सर्पदंशको उच्च जोखिम जिल्ला हो । बर्षायाम संगै विसालु सर्पको टोकाईबाट ज्यानै जानसक्ने जोखिम उच्च हुँदा तत्कालै नजिकैको सर्पदंश उपचार केन्द्रमा उपचार गर्न सके जोखिम कम हुन्छ ।

वडा अध्यक्ष चुवाईले उपचार केन्द्र नियमित संचालन र औषधी ब्यस्थापनका लागि पटक पटक नगरपालिकामा आवाज उठाउँदै आएको बताए । उनी भन्छन् “ स्थानिय स्तरमा संचालनमा आएको सर्पदंश उपचार केन्द्रलाई आपसी समन्वय गरी तुरुन्त सन्चालन गर्नुपर्दछ । ”

२०७५ साल फागुन २७ गते देखी संचालनमा आएको उपचार केन्द्रले २०७५ सालमा ३ जना, २०७६÷०७७ मा २२ जना, ०७७÷०७८ मा ७२ जना, ०७८÷०७९ मा ५८ जना र २०७९ माघ सम्म ५९ जना सर्पदंशका विरामीलाई उपचार गरेको केन्द्रका डाक्टर हिमशैल खड्काले बताए ।

उनका अनुसार “उपचार केन्द्र संचालन भएपछि गत माघ सम्म २ सय १४ जना सर्पदंशका विरामीलाई उपचार गरिएको छ ।” भौतिक संरचना, दक्ष जनशक्ति र औषधीको अभावको कारण देखाउँदै हाल उपचार केन्द्र बन्द छ । डाक्टर खड्का भन्छन् “उपचार केन्द्रमा आईसियु र भेन्टीलेटर छैन । यस्तो अवस्थामा उपचार गर्दा जुनसुकै बेला विरामीलाई आईसियु र भेन्टीलेटरको आवश्यकता पर्ने हुनसक्छ ।”

गत माघमा केन्द्रमा कार्यरत डाक्टर विनोद कुमार यादव नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सरुवा भए । उनी सर्पदंशको उपचार गर्नका लागि तालिम प्राप्त थिए । उनी गए संगै उपचार केन्द्रमा सर्पदंशको उपचार हुन सकेको छैन । न त तालिम प्राप्त स्वास्थ्यकर्मीको ब्यबस्था गरिएको छ । डाक्टर खड्काका अनुसार अस्पतालमा रहेको एन्टी स्न्याक भ्यानमको गत चैत्र महिनामा डेट सकिएको हो ।

त्यस यता अस्पतालमा कुनैपनि निकायले भ्यानम उपलब्ध गराएको छैन भने तालिम प्राप्त जनशक्तिको ब्यबस्थापन पनि भएको छैन । केन्द्र स्थापना गर्नका लागि सुनवल नगरपालिकाको पनि सहयोग रहेकोले औषधी सकिए संगै डाक्टर खड्काले औषधी मागको पत्र लिएर नगरपालिका गएको बताए ।

खड्काले नगरपालिका संग औषधी माग गरिएको बताए पनि सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले भने सर्पदंशको उपचार निरन्तरताका लागि नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयबाट कुनै पनि समन्वय गर्न नआएको बताईन् । उनी भन्छीन् “नगर संग उपचार केन्द्रका लागि कसैले औषधी माग गरेको छैन । दुईवटा एसी माग गरिएको थियो जुन उपलब्ध गरायौं ।”

औषधी सकिएकै समयमा औषधी उपलब्ध नगराएको नगरले उपचार केन्द्रमा एसी भने उपलब्ध गराएको छ । नगर प्रमुख अर्यालले सर्पदंशको उपचार केन्द्र संचालन गर्न आवश्यक समन्वय गर्न तयार रहेको बताईन् ।

केन्द्रको २०७५ फागुन २७ गते तत्कालिन नगर प्रमुख भिम बहादुर थापा “भरत” ले उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल अबधीमा केन्द्रका लागि आवश्यक पर्ने औषधी उपलब्ध गराउादै आएको बताए । उनी भन्छन् “औषधी बाहना मात्रै हो, खास कुरो त अघिल्ला जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरुलाई बेवास्ता गर्नु हो । जनताले सेवा पाउने विषयमा अनावश्यक राजनिति नगरी सर्पदंश केन्द्र तत्काल संचालन गर्नुपर्छ । ”



Ads