पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।
दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कारस्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिनुभयो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा गाभ्नुपर्ने अवस्था आएको भन्दै वडाध्यक्ष पोखरेलले जनसङ्ख्या बढाउन पनि पुस्कारस्वरूप पाँच हजार रुपैयाँ दिन लागेको बताउनुभयो ।
जनसङ्ख्या बढी भएको देशमामात्रै विकास भएको भन्दै जनसङ्ख्या कम भएकाले पनि गाउँका खेतबारी बाँझै भएको उहाँको दाबी छ ।
यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष यो कार्यक्रमलाई थप बजेट छुट्याइने जनाएको छ ।