ताजा अपडेटः

अबैध रुपमा ल्याईएका ५ वटा टेक्टर काेईला मध्ये ३ टेक्टर काेईला मात्र प्रहरीले लियाे नियन्त्रणमा

अबैध रुपमा ल्याईएका ५ वटा टेक्टर काेईला मध्ये ३ टेक्टर काेईला मात्र प्रहरीले लियाे नियन्त्रणमा प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार ११:०५

 

सुरेश यादव,परासी । नवलपरासीको सशस्त्र प्रहरीले जनशक्ति नभएको भन्दै अवैध रुपमा ल्याइएको कोइला बरामद नगरी छाडेको छ ।

प्रहरीले हिजाे भारतीय सीमा नाकाबाट ल्याउँदै गरेको ५ टेक्टर मध्ये ३ वटा टेक्टरको कोइला बरामद गरेको छ । अन्य दुई टेकटरबाट ल्याइएको कोइला जनशक्ति नभएको भन्दै प्रहरीले त्यसै छाडेको हो ।

जिल्लाको भुजहवा र पँचपेडा नाकाबाट ५ वटा ट्याक्टरमा भन्सार छलेर ल्याइएको कोइला थियो । नेपाल प्रहरीको पँचपेडा चौकी हुँदै ल्याइएको कोइलालाई सशस्त्र प्रहरीले बरामद गरेको हो ।

तर २ वटा टेक्टरमा ल्याइएका कोइला खन्याएर फालेको भन्दै सशस्त्रले उठाएको छैन । ३ वटा टेक्टरबाट बरामद भएको ६० क्वीन्टल कोइलाको मूल्य १६ लाख ८० हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा नाकासँग जोडिएको प्रतापपुर गाउँपालिका–४ हरकपुरामा रहेको गोदाममा स्टक गर्न कोइला ल्याइएको बताइएको छ । टिनको छाना राखेर बनाइएको गोदाम वरपर अहिले १० लाख बराबरको करिब ४० क्वीन्टल अवैध कोइला रहेको बताइएको छ ।

अवैध कोइला नउठाइएको बारे सशस्त्र प्रहरी बल नेपाल नं. २६ हे.क्वा.का उपरीक्षक (एसपी) धीरेन्द्र न्यौपानेले २ वटा टेक्टर कोइला खन्याएर भागेको र जनशक्ति नभएकाले त्यसै छाडिएको बताउनुभयो ।

उहाँले छाडिएको कोइला उठाउन नसकिने बताउनुभयो । बरामद गरिएको कोइला महेशपुर पठाइने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अवैध सामान कुनै पनि बहानामा छाड्न नमिल्ने बताउनुभयो ।

आफूलाई ३ वटा टेक्टरको मात्र जानकारी दिइएकोले त्यस बारे बुझ्ने उहाँले बताउनुभयो। सशस्त्र प्रहरीको मिलमतोमा कोइला छाडिएको आरोप छ ।

छाडिएको कोइलालाई रातको समयमा कारोबारी आएर उठाउने भएकाले आर्थिक प्रलोभनमा परेर छाडिएको स्थानीयको दावी छ । इट्टा उद्योगमा कोइलाको प्रयोग हुने गरेको छ । स्थानीय उद्योगमा प्रयोग गर्नका लागि कोइला ल्याइएको बताइएको छ ।

कोइलाको न्यूनतम ८ रुपैयाँ प्रति केजी भन्सार लाग्ने गरेको महेशपुर भन्सार कार्यालयका निमित्त प्रमुख खेम थापाले बताउनुभयो । कोइलाको श्रेणी हुने भएकाले दर भाउमा कम बेसी हुने भए कारण भारतीय बिल हेर १० देखि १४ रुपैयाँ प्रति केजी पनि पर्न सक्ने महेशपुर भन्सार कार्यालयले जनाएको छ ।



Ads