ताजा अपडेटः

संकृतिमा फैलदो विकृति

संकृतिमा फैलदो विकृति प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार २३:१९

बुटवल।हिन्दुहरुको महान चाड हरितालिका तीज २०७९ नजिकिदै छ भनौ मुखैमा छ। परम्परा देखि हिन्दु समाजमा लोकप्रिय यो चाड विशेषगरि महिलाहरुको पर्वको रुपमा मनाइने गरिन्छ। तीज भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथीबाट औपचारिक रुपले सुरु भएर ऋषि पञ्चमीमा अन्त्य हुन्छ। तीजको सुरु दिनको अष्टमीलाइ कृष्ण जन्माष्टमीको रुपमा मनाउने गरिन्छ। यस दिन महिलाहरु व्रत बस्ने र कृष्णको पुजा गरेर मनाउछन भने कृष्णको मुर्ती नचाएर, जात्रा तथा तीज गीतहरु गाएर मनाउने गरिन्छ। त्यसपछि भने शुक्ल पक्षको द्वितीयको दिनमा दर खाने दिन हुन्छ। यो दिनलाई पनि निकै महत्त्वपूर्ण रुपले हेरिने गरिन्छ। भने त्यसको अर्को दिन अर्थात् हरितालिका तीजको दिन यो पर्वको मुख्य दिन हो। यस दिन महिलाहरु शिवजीको नाममा व्रत बस्ने गर्छन।

व्रतको क्रममा अविवाहित महिलाहरूले शिवजी जस्तो वर पाउ भनी कामना समेत गर्छन भने बिहे भएका विवाहित महिलाले भने पतिको दीर्घायुको कामना गर्छन। साथै तीजको गीतहरु गाउने र नाचगान गरेर यो दिनलाइ विशेष बनाउने परम्परा रहेको छ। त्यसै गरि तीजको अन्तिम दिनको रुपमा ऋषि पञ्चमीको दिन विषेश पुजा गरेर मनाउने गरिन्छ। तीजको बेलामा विवाहित महिलाहरु माइतमा जाने, अथवा माइतबाट दाजुभाइ लिन आउने चलन छ।

तर आजभोलि तीजलाइ परम्परागत शैलीमा भन्दा निकै भिन्न तरिकाले मनाउने प्रचलन बढ्दो छ। पहिला पहिला गीतको माध्यमबाट दुख पिडाहरु आदान प्रदान हुने गर्थे। तर आजभोली गीतहरु यस्ता बन्न लागे कि दुख पीडा आदान प्रदान गर्ने त परकै कुर हो, परिवार सँग बसेर सुन्न पनि लाज मान्नु पर्छ। तीजको नाममा पति संग महङ्गो महँगो कपडा,गरगहनाको माग गर्ने जस्ता कुराहरु पनि व्याप्त हुँदै गएका छन। तीज आउनु भन्दा दुई महिना अघि नै दर खान सुरु गरेर परम्परागत संस्कृतिको खिल्ली उडाइ रहेका छन। यो सरासर संस्कृतिको नाममा फैलिदै गएको विकृति हो।

मौलिक संस्कृती भनेका देशका गहना हुन, देशका चिनारी हुन। देशको स्वाधीनता र स्वाभिमान यस्ता मौलिक संकृतिमा झल्कुनु पर्छ। नराम्रा संस्कृति हटाउदै राम्रा कुराहरुलाई संरक्षण गरेर विश्व माझ चिनाउनु हाम्रो दायित्व र जिम्मेवारी हो। सरकारी तहबाटै संस्कारका नाममा फैलिएका विकृतिहरुलाइ मेटाउन पहल गर्नु पर्छ।

सांस्कृतिक मञ्चहरुमा बुलन्द आवाज उठाउनु पर्छ। नकारात्मक सन्देश जाने र भ्रम फैलाउदै मौलिकतामाथी दखल दिने खालका कार्यक्रम गर्नेहरुलाइ कारबाही समेत गर्नु पर्छ। गाउसहरमा जनचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गर्नु पर्छ।
त्यसैले संस्कृतिलाई विकृती तर्फ धकेल्नु भन्दा संरक्षण र नया पुस्तामा हस्तान्तरण गर्ने तर्फ ध्यान दिनु पर्छ।



Ads