ताजा अपडेटः

टुकी बालेर खोज्दै छु लोकतन्त्र

कल्पना खरेल
टुकी बालेर खोज्दै छु लोकतन्त्र प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार १०:३४

नवीन सुबेदी,बुटवल। नेपाल एक लोकतान्त्रिक मुलुक हो। लोकतन्त्रको स्थापनाको लागि विगतमा थुप्रै संघर्षहरु भए, हजारौ सहिदहरुको रगतबाट र अनेकौ राजनैतिक दलहरुको संयुक्त प्रयासबाट लोकतन्त्र ल्याइएको भनिएको लोकतन्त्रमा तिनै राजनैतिक दलले निरङ्कुशताको जरा टेक्दै छन।

हिजो राजासँग कुस्ती खेलेर,पञ्चहरुलाइ ढुङ्गा हानेर, शाही सेनालाइ गोली ठोकेर ल्याइएको भनेको लोकतन्त्रमा आज बोल्न समेत बन्देज लगाइएको छ।लोकतन्त्रमा आफ्ना विचारहरु, आफ्ना असन्तुष्टिहरुलाई शान्तिपूर्ण तरिकाले अभिव्यक्त गर्न पाइन्छ भनिन्छ। हिजो राजा राणाहरुले स्वतन्त्रता खोसे,दमन,शोषण गरे भन्नेहरु आज आफै दमन गर्दै त्यसको रमिता हेर्ने रमिते भएका छन। हिजो मुखबाट टेप उक्काएर बोल्न पाइन्छ भन्नेहरु आज सर्वसाधारण जनताका मुखमा टेप लगाइरहेका छन।

ढुङ्गा हानेर संसद छिर्नेहरु,टायर बालेर मन्त्री बनेकाहरु, हत्या,अपहरण,लुटपिट गरेर नेता बनेकाहरु आज अधिनायकवाद बनेका छन। सत्ताको आडमा प्रहरी परिचालन गरेर आज सर्वसाधारण जनतालाइ शास्ती दिएका छन। आफुले आफैलाइ लोकतान्त्रिक ठान्नेहरु आज हिटलर बनेर तानाशाह लाद्ने प्रयास गरिरहेका छन। जनतालाइ दमन गरि आफै राजा बन्ने गरेका छन। समाजवादको नारा घन्काउदै लुटतन्त्र र भ्रष्टाचारको आगो सल्काइरहेका छन।

सत्तामोहमा लिप्त भएर विभिन्न अस्वस्थ समीकरण बनाउदै विदेशी सामु लम्पसार परेर राष्ट्रियता बेचीरहेका छन। खोक्रो स्वतन्त्रताको पम्प्लेट बेच्दै दमन र उत्पिडनमा बाजा बजाएर नाचेका छन। लोकतान्त्रिक देशमा म टुकी बालेर लोकतन्त्र खोजी रहेको छु।




Ads